काठमाडाैं । चीनको बेइजिङमा मंकी बी भाइरस संक्रमणका कारण एक व्यक्तिको मृत्यु भएको छ । बेइजिङमा याे भाइरसकाे संक्रमणबाट एक डाक्टरकाे मृत्यु भएकाे ग्लाेबल टाइम्स उद्दृत गरी बीबीसीले समाचार प्रकाशन गरेकाे छ ।
५३ वर्षका यी पशु चिकित्सक एक इन्स्टिच्युटमा नन–ह्यूमन प्राइमेट्समाथि अनुसन्धान गरिरहेका थिए । त्यसकाे केही समयपछि उनलाई बान्ता आउने समस्या देखिएकाे थियाे । ती चिकित्सकले थुप्रै अस्पतालमा उपचार गराए तर २७ मेमा उनको मृत्यु भयो ।
मंकी बी भाइरसले मानव संक्रमण र मृत्युको यो पहिलो घटना हाे । अनुसन्धानकर्ताले अप्रिलमा पशु चिकित्सकको स्याम्पल लिएका थिए र त्यसमा मंकी भाइरस भएको पुष्टि गरिएको थियो । उनको सम्पर्कमा आएका अर्को व्यक्तिमा अहिलेसम्म यो भाइरसको संक्रमणको लक्षण देखिएको छैन ।
यो भाइरसको पहिचान सन् १९३२ मा भएको थियो । यो भाइरस सिधा सम्पर्क र शरीरबाट निस्कने तरल पदार्थको आदान प्रदानबाट फैलन्छ । मंकी बी भाइरसद्वारा संक्रमित बिरामीमा मृत्युदर ७० प्रतिशतदेखि ८० प्रतिशत हो ।
के हो मंकी बी भाइरस ?
हर्पीस बी भाइरस वा मंकी भाइरस साधारणतया वयस्क मेकाक बाँदरबाट फैलन्छ । यसबाहेक रिसक मेकाक, सुँगुरको झैं पुच्छर भएका मेकाक र सिनोमोलगस बादर वा लामो पुच्छर भएको मेकाकबाट पनि यो भाइरस फैलन्छ ।
यदि कोही मानिस यो भाइरसद्वारा संक्रमित हुन्छन् भने उसलाई स्नायू सम्बन्धि रोग वा मस्तिष्क र मेरुदण्ड सुन्निने रोग लाग्न सक्छ ।
यो भाइरस कसरी फैलन्छ ?
मानिसमा यो भाइरस साधारणतया मेकाक बाँदरले टोकेपछि वा चिथोरेपछि मात्रै पुग्न सक्छ । भाइरस संक्रमित बाँदरको र्याल, मलमूत्रमार्फत् पनि यो फैलन सक्छ ।
यो भाइरस वस्तुको सतहमा घण्टौँसम्म जीवित हुनसक्छन् ।
बोस्टन पब्लिक हेल्थ कमिशनको रिपोर्ट अनुसार प्रयोगशालामा काम गर्ने मानिस सबैभन्दा बढी यो भाइरसद्वारा संक्रमित हुने खतरा हुन्छ । यस्तै, पशु चिकित्सक वा यी बाँदरको निकट बसेर काम गर्नेहरुमा पनि यो भाइरसको संक्रमणको खतरा उच्च रहन्छ ।
यी भाइरसको लक्षण के हुन् ?
मानिसमा, भाइरसको सम्पर्कमा आएको १ महिनाभित्र लक्षण देखिन थाल्छ । थुप्रै पटक यो लक्षण ३ देखि ७ दिनभित्र पनि देख्न सकिन्छ । सबैमा यो संक्रमणको एउटै लक्षण देखिन्छ भन्ने पनि छैन ।
लक्षण :
संक्रमण भएको ठाउँमा फोका आउँछ ।
घाउ नजिक दुख्छ, सुन्निन्छ र चिलाउँछ ।
ज्वरो आउने चिसो लाग्ने हुन्छ ।
२४ घण्टाभन्दा बढी समयसम्म टाउको दुख्छ ।
थकान महसुस हुन्छ ।
मांसपेशी दुख्छ ।
सास फेर्न समस्या हुन्छ ।
संक्रमण अत्यधिक बढेको खण्डमा मृत्युसमेत हुनसक्छ ।
के हो उपचार ?
बोस्टन पब्लिक हेल्थ कमिशनको रिपोर्ट अनुसार यो भाइरसद्वारा संक्रमित व्यक्तिले यदि उपचार नपाएको खण्डमा लगभग ७० प्रतिशत मामिलामा बिरामीको मृत्यु हुनसक्छ । यस्तोमा यदि तपाईंलाई कुनै बाँदरले टोकेको छ वा चिथोरेको छ भने ती बाँदर बी भाइरसका वाहक हुनसक्छन् ।
यस्तो स्थितिमा तुरुन्त प्राथमिक उपचार सुरु गर्नुपर्छ । घाउ भएको स्थानमा साबुन र पानीले राम्रोसँग सफा गर्नु सबैभन्दा आवश्यक छ । मंकी बी भाइरसको उपचारका लागि एन्टीभाइरल औषधी त उपलब्ध छन् तर कुनै खोप उपलब्ध छैन ।
– बीबीसी हिन्दीबाट ।