मोरङ । नेपाल उद्योग परिसंघ कोशी प्रदेशले नयाँ सरकारद्वारा सार्वजनिक गरिएको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचि तथा मार्गचित्रप्रति स्वागत जनाएको छ । परिसंघले यस कदमले मुलुकमा पारदर्शिता, सुशासन र आर्थिक विकासलाई गति दिने विश्वास व्यक्त गरेको छ ।
परिसंघका अध्यक्ष पवनकुमार सारडाद्वारा जारी शुभकामना सन्देशमा नयाँ नेतृत्वले देशलाई नवीन सोच र ऊर्जाका साथ अघि बढाउने अपेक्षा गरिएको उल्लेख छ । नयाँ सरकारले कार्यकालको सुरुवातमै स्पष्ट शासकीय सुधारका योजना सार्वजनिक गर्नु सकारात्मक संकेत हो, वक्तव्यमा भनिएको छ ।
परिसंघले विशेषगरी उद्योग, लगानी, निजी क्षेत्र प्रवद्र्धन, प्रशासनिक पुनर्संरचना तथा राजस्व सुधारजस्ता आधारभूत विषयलाई प्राथमिकतामा राखिएकोप्रति खुसी व्यक्त गरेको छ । यस्ता सुधारले देशलाई समृद्धितर्फ लैजाने महत्वपूर्ण आधार तयार पार्ने विश्वास लिइएको छ ।
यसैगरी, विगतदेखि उठाइँदै आएका असान्दर्भिक ऐन–नियम खारेज गर्ने, झन्झटिला प्रक्रिया हटाउने तथा राजस्व अनुसन्धान प्रणालीमा सुधार गर्ने जस्ता विषयमा पनि सरकारले ठोस कदम चाल्ने अपेक्षा गरिएको छ । भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापना जनताको मुख्य चाहना भएकाले त्यसतर्फ सरकार गम्भीर बन्नुपर्ने धारणा परिसंघले राखेको छ ।
परिसंघले विगतमा घोषणा भएका कार्यक्रम कार्यान्वयनमा कमजोर देखिएको अवस्थालाई अब दोहोरिन नदिने अपेक्षा गरेको छ। अब घोषणा मात्र नभई प्रभावकारी कार्यान्वयन हुनेमा निजी क्षेत्र विश्वस्त छ, वक्तव्यमा उल्लेख गरिएको छ ।
यसैबीच, बालेन्द्र शाह नेतृत्वको नयाँ सरकार गठन भएकोमा परिसंघले बधाई ज्ञापन गर्दै कार्यकाल सफलताको कामना गरेको छ । साथै, मुलुकमा विधिको शासन स्थापित गर्दै आर्थिक समृद्धि हासिल गर्ने यात्रामा निजी क्षेत्र सधैं सरकारको साथमा रहने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।
प्रतिक्रिया दिनुहोस