काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले कांग्रेसलाई एक ठाउँमा ल्याउनको लागि अन्त्यसम्म पनि पहल गर्ने बताएका छन् ।
विपी स्मृति सामुदायिक सहकारी अस्पतालको बार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा कोइरालाले कांग्रेस विवादको बिषय अहिले अदालतमा रहेको भन्दै जस्तो फैसला आएपनि कांग्रेसलाई एक ठाउँमा ल्याउनको लागि अन्त्यसम्म पनि पहल गर्ने बताएका हुन् ।
उनले केन्द्रीय समितिबाट नै निर्णय गरेर विशेष महाधिवेशनमा जानुपर्नेमा आफ्नो मत रहेपनि केहिलाई स्वीकार्य नभएकै कारण एकतर्फी ढंगले विशेष महाधिवेशन भएको तर्क गरे । कांग्रेसमा अहिले आफु कुनै पनि समूहमा नरहेको उनले बताए । उनले पार्टीलाई एक ढिक्का बनाएर आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउने मात्रै आफ्नो इच्छा रहेको धारणा राखे ।
त्यस्तै नेता कोइरालाले गत निर्वाचनमा कांग्रेसको भोट स्वइङ भएका कारण संसदमा निकै कमजोर उपस्थीति हुन पुगेको उल्लेख गरे ।
उनले पहिले कांग्रेसको लडाई वामपन्थीहरुसंग हुने गरेकोमा अवको लडाई लिबरल डेमोक्रेट्सहरुसित रहेकाले यस लडाइमा पनि कांग्रेस सफल हुने उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस