काठमाडौँ । राष्ट्रियसभाको नवनिर्वाचित उपाध्यक्ष लीलाकुमारी भण्डारी सुदूरपश्चिम प्रदेशबाट उक्त पदमा पुग्ने पहिलो महिला हुन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट राष्ट्रियसभा सदस्य भएकी भण्डारी सभाको आजको बैठकमा निर्विरोध रुपमा उपाध्यक्ष पदमा निर्वाचित भएकी हुन् । उक्त पदमा एक मात्र उम्मेदवारी परेकाले उनलाई सभाका अध्यक्ष नारायणप्रसाद दाहालले निर्विरोध विजयी घोषणा गरेका हुन् ।
उनी गत माघ ११ गते सदस्यमा निर्वाचित भएकी थिइन् । उपाध्यक्ष भण्डारीको राजनीतिक यात्रा २०४७ सालदेखि सुरु भएको हो ।
तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको सरकारमा छ महिना शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बनेकी भण्डारी गेटा मेडिकल कलेज सञ्चालनको पहलकर्ताका साथै मुक्त कमलरीको अवस्था सुधारमा भूमिका निर्वाह गरेकी थिइन् ।
कैलालीको फूलबारीस्थित चन्द्रोदय माध्यमिक विद्यालयमा अध्ययन गर्दादेखि राजनीतिमा चासो राखेकी उपाध्यक्ष भण्डारीले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)मा सक्रिय भएर विद्यार्थीको सवालमा काम गरेकी थिइन् ।
तत्कालीन नेकपा (माओवादी केन्द्र) बाट एमालेमा प्रवेश गरेकी उनले एमालेको १०औँ र ११औँ महाधिवेशनबाट निर्वाचित हुँदै पोलिटब्यूरो सदस्य र कैलाली जिल्ला संयोजकको जिम्मेवारी निर्वाह गरिसकेकी छन् ।
प्रतिक्रिया दिनुहोस