२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

चितवनमा क्होइबो निर्माणका लागि ‘कन्सर्ट’ गर्ने तयारीमा प्ये ल्हु संघ

बुधवार , चैत्र २५, २०८२

भरतपुर । तमू प्ये ल्हु संघ चितवनले संस्थागत विकासका लागि ‘चितवन म्युजिक कार्निबल च्यारिटी फर क्होइबो’ (कन्सर्ट) गर्ने भएको छ । संघले बुद्ध पूर्णिमाको अवसर पारेर नारायणगढको क्याम्पाचौरमा कन्सर्ट गर्न लागेको मङ्गलबार भरतपुरमा पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । संघको गुरूयोजनाअनुसार घरजग्गासहित क्होइबो धीँ (कुल पुज्ने घर) निर्माण सहयोगार्थ २०८३ को वैशाख १८ गते कन्सर्ट आयोजना गर्न लागेको संघका अध्यक्ष विक्रम च्हम्रु तमूले जानकारी दिए ।

कन्सर्टमा ख्यातिप्राप्त ब्यान्ड तथा स्थानीय कलाकारबाट सांगीतिक प्रस्तुति रहने उनले बताए । अध्यक्ष तमूका अनुसार पुरानो तथा चर्चित ब्यान्ड एक्सिससँगै लिल झोला र स्थानीयस्तरमा ख्याति कमाएको कताब, युगनजस्ता ब्यान्डले मञ्च तताउने छन् । साथै यमुना गुरूङ र पविन गुरूङको प्रस्तुति रहने आयोजकले जनाएको छ । लिल झोलाले चितवनमा पहिलोपटक प्रस्तुति दिने तयारी गरेको हो ।

कन्सर्टमार्फत करिब डेढ करोड रूपैयाँ आम्दानी गर्ने लक्ष्य लिइएको छ । कन्सर्टका लागि प्रवेश शुल्क पाँच सय, एक हजार, दुई हजार र पाँच हजारभन्दा माथिको गरी फरक–फरक खालको टिकटको व्यवस्था गरिएको कार्यक्रम संयोजक जगत गुरूङले जानकारी दिए । पाँच हजार रूपैयाँभन्दा बढी रकमको टिकटलाई ‘डायमन्ड’ टिकट भनिएको छ ।

टिकटको दरअनुसार दर्शकलाई सुविधा दिइने व्यवस्था गरिएको उनले बताए । त्यसबाहेक प्रायोजक, सहप्रायोजक तथा विभिन्न विज्ञापनदाताहरुबाट खर्च व्यवस्थापन गरिने उनको भनाइ छ । ‘आम्दानीको स्रोत भनेकै टिकट बिक्री र प्रायोजकहरु नै हुन्’, उनले भने, ‘तसर्थ टिकट बिक्री र बजार प्रवद्र्धन गर्न चाहने ठूला कम्पनीहरुसँग भेटघाट गर्नेजस्ता गतिविधिलाई प्राथमिकता दिइरहेका छौँ ।’

कार्यक्रममा व्यवस्थापकीय जिम्मेवारी भने नेपाल डायरिजले लिएको छ । मञ्च व्यवस्थापनसँगै टिकट बिक्री र प्रायोजक खोजीजस्ता महत्वपूर्ण पक्षमा काम गर्दै आएको नेपाल डायरिजका व्यवस्थापक विनेश थापाले जानकारी दिए । उनका अनुसार साँझ ४ बजे सुरू हुने कार्यक्रममा दर्शकहरुले राति १० बजेसम्म मनोरञ्जन लिन पाउने छन् ।

कन्सर्टमा करिब आठ हजार दर्शक सहभागी हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ । गुरूङ जातिको भाषा, धर्म र संस्कृति संरक्षणका निम्ति विसं २०६० मा स्थापना भएको संघले गत वर्षदेखि अर्थ सङ्कलनको प्रयास गर्दै आएको छ । जसबाट भरतपुर–४ स्थित यज्ञपुरीमा एक कठ्ठा जमिन खरिद गरिसकेको छ ।

खरिद गरिसकेको जमिनमा थप जमिन लिएर त्यसैमा क्होइबो धीँ अर्थात् कुल पुज्ने घर निर्माण गर्ने योजना रहेको संघका अध्यक्ष तमूले जानकारी दिए । यसअघि रकम सङ्कलनका लागि घरदैलो तथा देउसीभैलो कार्यक्रमसमेत सञ्चालन गरेको थियो । उक्त गतिविधिबाट रकम सङ्कलन पर्याप्त नभएपछि ठूलो लक्ष्य लिएर कन्सर्ट आयोजना गर्ने जमर्को गरिएको उनले बताए । संघले यसअघि भरतपुरमा आयोजित कन्सर्टमा एक्सिस ब्यान्डलाई सगुन लिएर निम्तो दिएको थियो ।

ट्हो ट्हे पर्व सम्पन्न

तमू प्ये ल्हु संघ चितवनले मङ्गलबार ट्हो ट्हे (गाउँ रक्षा) पर्व मनाएको छ । ग्रामीण क्षेत्रबाट बजारिया बने पनि पुरानो परम्परालाई पछ्याउने क्रममा चितवनमा पनि विगतदेखि नै ट्हो ट्हे पर्व मनाउँदै आएको छ । सोहीअनुसार यसवर्षको अन्तिम ट्हो ट्हे पर्व मङ्गलबार मनाइएको प्ये ल्हु संघ चितवनका अध्यक्ष विक्रम च्हम्रु तमूले जानकारी दिए ।

नौरङ्गेस्थित खेमा तमू समाजको क्होइबो धीँमा प्हच्यु, क्ल्हेप्री र लम्ले संयुक्तरुपमा पूजाआजा गरेर ट्हो ट्हे पर्व मनाइएको उनले बताए । हरेक वर्ष कात्तिक र चैतमा पहिलो या अन्तिम मङ्गलबार ट्हो ट्हे पर्व मनाउने चलन छ । ट्हो ट्हे मनाउँदा गाउँको चार किल्ला बाँध्ने, गाउँभर मानिससहितका प्राणीजगत्मा रोगव्याधि नाश हुन्छ भन्ने विश्वास रहिआएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट