काठमाडौं । विश्व खेलकुदको महाकुम्भ ३२औं गृष्मकालीन ओलम्पिक आजदेखि जापानको टोकियोमा सुरु हुँदैछ । कोरोना महामारीकैबीच सुरु हुन लागेको ओलम्पिकमा भाग लिनका लागि संसारभरका ११ हजार खेलाडी टोकियो पुगेका छन् ।
टोकियोस्थित राष्ट्रिय रंगशालामा ‘युनाइटेड बाई इमोसन’ थिममा शुक्रबार साँझ ओलम्पिक उद्घाटन हुँदै छ । प्रत्येक चार वर्षमा आयोजना गरिने ओलम्पिक महामारीकै कारण एक वर्ष ढिला सारिएको हो ।
टोकियोमा कोभिड–१९ संक्रमण बढ्दै जाँदा केही दिन अघिसम्म पनि ओलम्पिक आयोजनामै शंका थियो । सरकारले आपत्काल घोषणा गरेरै ओलम्पिक आयोजना गर्न लागेको हो ।
ओलम्पिकमा नेपालको यो १४ औंं सहभागिता हो । सन् १९६८ मा मक्सिकोमा आयोजना भएको १९औँ ओलम्पिकमा भने नेपालले भाग लिएको थिएन । विश्वका दुईसय चार देशका खेलाडीको सभागिता रहने ओलम्पिकमा यसपटक नेपालबाट चार खेलका पाँच खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।
नेपालबाट अहिलेसम्म तेक्वान्दोकी संगिना वैद्य र दीपक विष्टले मात्र छनोट चरण पार गरेर ओलम्पिक खेलेका छन् । संगिनाले सन् २००४ को एथेन्स ओलम्पिक र दीपकले सन् २००८ को वेइजिङ ओलम्पिकमा छनोट चरण पार गरेर ओलम्पिक खेलेका थिए ।
संगिना र दीपकलाई छाड्ने हो भने नेपालको अहिलेसम्मको ओलम्पिक सहभागिता केवल वाइल्ड कार्ड र युनिभर्सालिटी प्लेसेसका आधारमा तय हुँदै आएको छ । जसमा खेलाडीको मेहनतभन्दा भाग्यमा भर पर्दछ ।