काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले संविधानमाथि छेडखानी गर्दै जनताले पाएका हक अधिकार खोस्ने गतिविधि भए सडक र सदनबाट प्रतिवाद गर्ने बताएका छन् ।
शनिबार पार्टी कार्यालय पेरिसडाँडामा अखिल नेपाल महिला संघ(क्रान्तिकारी) सम्पर्क समन्वय प्रदेश समितिले आयोजना गरेको कार्यक्रममा संयोजक प्रचण्डले रास्वपा नेतृत्वको सरकारलाई रचनात्मक ढंगले सहयोग हुने भन्दै संविधानमाथि छेडखानी र राष्ट्रिय हितमाथि कहीँकतैबाट आँच आउन थाले सडक र सदनबाट प्रतिवाद गर्ने बताएका हुन् ।
अहिले विद्यार्थीहरूको हक अधिकार र कर्मचारी ट्रेड युनियनको अधिकारबारे सरकारले प्रश्न उठाउन खोजेको भन्दै प्रचण्डले लामो संघर्ष, ठुलो त्याग र बलिदान गरेर प्राप्त भएका अधिकारहरू, जनवर्गका अधिकारमाथि कुनै किसिमको छेडखानी नगर्न चेतावनी समेत दिए ।
उनले आफुहरु संविधान संशोधनको विरोध नभएको उल्लेख गर्दै जनताको अधिकार थप गर्न र संघीयतालाई बलियो बनाउन सकारात्मक भूमिका र सहयोग हुने स्पष्ट पारे ।
त्यस्तै उनले सोचेको भन्दा अलि फरक ढङ्गले निर्वाचन परिणाम आएकाले पार्टीभित्र गम्भीर रुपमा समिक्षा भइरहेको जानकारी दिए ।
उनले पार्टीभित्र आत्मसमीक्षा गर्दै जनतामा जाने र संगठनलाई बलियो बनाउन सके आगामी निर्वाचनमा पहिलेको जस्तै नजिता ल्याउन सकिने बताए ।
प्रतिक्रिया दिनुहोस