काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नयाँ वर्ष २०८३ को पावन अवसरमा सम्पूर्ण नेपाली नागरिकहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले प्रसिद्ध संस्कृत श्लोक सर्वे भवन्तु सुखिनः को स्मरण गर्दै विश्व कल्याणको कामना गरेका हुन् । उनले लेखेका छन्ः ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः । सर्वे भद्राणि पश्यन्तु, मा कश्चिद् दुःखभाग् भवेत् ॥’
उक्त श्लोकको भावार्थ प्रस्तुत गर्दै प्रधानमन्त्री शाहले सबैको जीवनमा सुख, आरोग्य र कल्याण छाओस् भन्ने अपेक्षा राखेका छन् । उनले थप भनेका छन्, “सदैव शुभ होस्, निर्विघ्नता रहोस् र दुःखको हरण होस् । नयाँ वर्ष २०८३ को शुभारम्भको यस पावन अवसरमा सम्पूर्णमा सुख, शान्ति र समृद्धिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।”
नयाँ वर्षको सुरुवातसँगै आज देशभर राजनीतिक दलका नेता, जनप्रतिनिधि तथा विशिष्ट व्यक्तिहरूले सामाजिक सञ्जाल र विभिन्न माध्यमबाट शुभकामना आदानप्रदान गरिरहेका छन्। सोही क्रममा प्रधानमन्त्री शाहले विशेष गरी सुस्वास्थ्य र मानवीय भलाइलाई जोड दिँदै आफ्नो सन्देश प्रवाह गरेका हुन् ।
देशभर आज वैशाख १ गते नयाँ वर्षको उत्साह छाएको छ भने नागरिकहरूले एकआपसमा खुसी साटासाट गरी वर्षको पहिलो दिन मनाइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस