काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बिभिन्न प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरेका छन् ।
बिहीबार प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री शाहले मुख्यमन्त्रीहरूसँग छलफल गर्दै प्रदेशमा देखिएका समस्या, विकास निर्माणको अवस्था लगाएतका बिषयमा जानकारी लिएका थिए । स्रोत–साधनको समुचित बाँडफाँड सुनिश्चित गर्ने तथा प्रदेशहरूले भोगिरहेका विभिन्न प्रशासनिक र आर्थिक समस्याहरू समाधान गर्ने विषयमा समेत छलफल भएको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जानकारी दिए ।
तीन तहको सरकारको समन्वय, सहकार्य र सह–अस्तित्वको विषयमा समेत प्रधानमन्त्री शाहसँग छलफल भएको उनले बताए । उनले प्रदेशले पाउने अनुदान यसअघिको भन्दा निकै घट्दै आएको, प्रदेशका गौरव आयोजनाहरुको निर्माण कार्यमा समस्या देखिएको लगाएतका बिषयमा प्रधानमन्त्रीलाई जानकारी गराएको समेत उल्लेख गरे ।

त्यसैगरि कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले प्रदेशको समग्र अवस्थाका बारेमा प्रधानमन्त्रीले जानकारी लिएको बताए । उनले संविधानले नै प्रदेशलाई अधिकार तोकेपनि पछिल्लो समय संघीय सरकारका कतिपय परिपत्रहरु संविधानसम्मत नभएको बिषयमा समेत प्रधानमन्त्रीलाई जानकारी गराइएको उल्लेख गरे । बिकास निर्माण, प्रशासनीक क्षेत्रमा देखिएका समस्याका बारेमा पनि अवगत गराइएको उनको भनाइ छ ।
बैठकमा कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीहरु भने व्यक्तिगत कारणले अनुपस्थीत थिए ।
देशको वर्तमान आर्थिक अवस्था, पूर्वाधार विकास, सेवा प्रवाहमा सुधार तथा सुशासन कायम गर्ने विषयमा साझा समझदारी निर्माण गर्ने प्रयासका रुपमा मुख्यमन्त्रीहरुसंग छलफल गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस