नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकास्थित इन्दिरा सुगर मिल्स एण्ड इन्डष्ट्रिजले उखु किसानको करोडौँ रुपैयाँ बक्यौता भुक्तानी नगरेपछि सञ्चालकविरुद्ध गृह मन्त्रालयमा उजुरी परेको छ । उद्योगले किसानलाई झण्डै ७ करोड रुपैयाँ बुझाउन बाँकी रहेको अवस्थामा सञ्चालक राकेश कुमार अग्रवाल सम्पर्कविहीन भएपछि स्थानीय स्तरमा आक्रोश चुलिएको हो ।
स्थानीय युवा नेता तथा अभियन्ता विजय कँडेलले गृह मन्त्रालयमा उजुरी दर्ता गर्दै उद्योगीले किसानको पसिनाको मूल्य नतिरी भाग्नु जघन्य अन्याय भएको उल्लेख गरेका छन् । उनले सरकारसँग तत्काल सञ्चालकलाई उपस्थित गराई बक्यौता असुल गर्न र आवश्यक परे राज्यले नै उद्योग नियन्त्रणमा लिएर सञ्चालन गर्नुपर्ने माग गरेका छन् ।
अभियन्ता कँडेलले भने, किसान बाँचे मात्रै देश बाँच्छ, तर यहाँ किसानको अस्तित्व नै संकटमा पारिएको छ । राज्यले तत्काल हस्तक्षेप गरेर पीडित किसानलाई न्याय दिनुपर्छ ।
लामो समयदेखि उखुको भुक्तानी नपाउँदा सो क्षेत्रका सयौँ किसानहरूको जनजीवन कष्टकर बनेको छ । बैंकको ऋण तिर्न नसक्दा र घरखर्च चलाउनै मुस्किल हुँदा धेरै किसानहरू मानसिक र आर्थिक दबाबमा परेका छन् ।
स्थानीयवासीले पटक–पटकको ताकेतापछि पनि उद्योगीले रकम नतिरेको र सरकारले यसअघि गरेका सहमतिहरू कार्यान्वयन नभएको भन्दै आपत्ति जनाएका छन् । उनीहरूले किसानको बक्यौता नतिर्ने उद्योगलाई कडा कानुनी दायरामा ल्याई तत्काल भुक्तानीको व्यवस्था मिलाउन सरकारसँग जोडदार माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस