२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

नेपालको एलडीसी स्तरउन्नति र गार्मेन्ट–टेक्सटाइल क्षेत्रमा चुनौतीबारे कोशी प्रदेशमा अन्तरक्रिया सम्पन्न

मंगलवार , बैशाख ८, २०८३

विराटनगर । नेपालको एलडीसी स्तरउन्नति पश्चात गार्मेन्ट तथा टेक्सटाइल क्षेत्रमा पर्ने प्रभावबारे केन्द्रित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश र साउथ एसियन वाच अन ट्रेड, इकोनोमिक्स एण्ड इनभाइरोमेन्ट (सावती) को सहकार्यमा आयोजना गरिएको थियो ।

कार्यक्रम नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतको अध्यक्षतामा सम्पन्न भएको हो । अध्यक्ष राउतले गार्मेन्ट तथा टेक्सटाइल क्षेत्रले विगतमा रोजगारी सिर्जनामा उल्लेखनीय योगदान पुर्याएको उल्लेख गर्दै कोटा प्रणाली हटेसँगै यो क्षेत्र कमजोर बन्दै गएको बताए । उनले कोशी प्रदेशमा धेरै टेक्सटाइल उद्योग सञ्चालनमा रहेको र रोजगारी सिर्जनामा महत्वपूर्ण भूमिका खेलेको धारणा राखे ।

कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै सावतीको सिनियर फेलो निलु थापाले एलडीसी स्तरउन्नतिपछि नेपालले सामना गर्नुपर्ने अवसर र चुनौतीबारे चर्चा गरिन् ।

त्यस्तै, सावतीका कार्यकारी निर्देशक पारष खरेलले अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै विकासोन्मुख राष्ट्रमा स्तरउन्नतिले नयाँ चुनौती ल्याउने बताए । उनका अनुसार गार्मेन्ट तथा टेक्सटाइल क्षेत्र सबैभन्दा बढी प्रभावित हुने सम्भावना छ । उनले नेपालमा उत्पादित टेक्सटाइल निर्यात गर्दा लागत बढी हुने भए पनि कोशी प्रदेशको भौगोलिक अवस्थाले काठमाडौँको तुलनामा सहजता प्रदान गर्ने बताए ।

उनले यस क्षेत्रमा दक्ष जनशक्तिको अभाव, कमजोर लजिस्टिक व्यवस्था, वित्तीय पहुँचको कमी तथा उद्योग सञ्चालनका लागि जग्गा प्राप्तिमा समस्या रहेको औंल्याए । नेपाली टेक्सटाइलमा कलात्मकता भएकाले अन्तर्राष्ट्रिय बजारमा माग रहेको भए पनि डिजाइन, ब्रान्डिङ र विश्व बजारको ट्रेन्डबारे पर्याप्त ध्यान नदिइएको उनको भनाइ थियो ।

खरेलका अनुसार यस क्षेत्रमा करिब ६० प्रतिशत महिला संलग्न छन् भने धेरै उद्योग अनौपचारिक रूपमा सञ्चालन भइरहेका छन् र कामदारसँग औपचारिक सम्झौताको अभाव छ । उनले क्रस–बोर्डर ई–कमर्समार्फत निर्यातको सम्भावना रहेको पनि उल्लेख गरे ।

अध्ययन प्रतिवेदनमाथि टिप्पणी गर्दै प्रगति टेक्सटायलका प्रदीप निरौलाले अध्ययनको समय र स्थानबारे प्रश्न उठाउँदै निर्यातसँगै आन्तरिक खपत बढाउनुपर्नेमा जोड दिए । उनले नेपालमा उत्पादन भएका कपडाको प्रयोग मात्र ४० प्रतिशत रहेको र बाँकी अवैध आयातबाट आउने भएकाले नियमन आवश्यक रहेको बताए ।

गार्मेन्ट व्यवसायी शिव रिजालले दक्ष जनशक्ति अभाव मुख्य समस्या रहेको बताए भने कोशी प्रदेशका उत्पादनहरू अन्तर्राष्ट्रिय खरिदकर्तासम्म पुग्न नसकेको गुनासो गरे ।

रियान्स स्पिनिङ मिल्सका रमेश सिग्देलले टर्कीमा शून्य भन्सारमा निर्यात भइरहेको जानकारी दिँदै जीआरएस प्रमाणपत्र प्राप्त गरेको बताए । उनले स्वदेशी कच्चा पदार्थ प्रयोग गर्ने प्रयास भइरहेको भए पनि ठूलो मात्रामा उत्पादन गर्न कठिनाइ भइरहेको बताए । साथै अल्लो उत्पादनमा अमेरिकाबाट माग आएको जानकारी दिए ।

रघुपति जुट मिल प्रालिका प्रतिनिधिले कच्चा पदार्थ अभाव ठूलो चुनौती रहेको बताए भने देवराज दाहालले समस्या मात्र नभई समाधानमुखी दृष्टिकोण आवश्यक रहेको धारणा राखे ।

विराट व्यापार संघका निवर्तमान अध्यक्ष महेश खत्रीले उद्योग स्थापना प्रक्रियामा झन्झटिलोपन र श्रमिक अभाव मुख्य समस्या भएको बताए । भन्सार एजेन्ट संघका प्रतिनिधिले सरकारलाई अवस्था अनुसार स्वतन्त्र व्यापार सम्झौता गर्न सुझाव दिए ।

नेपाल अपारेल्सका प्रतिनिधि इस्तियात मोहम्मदले चिनियाँ उत्पादनले नेपाली बजारलाई प्रभावित पार्दै गएको बताए ।

कार्यक्रममा उठेका विषयमा नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी तथा सावतीका प्रतिनिधिहरूले सम्बोधन गरेका थिए । साथै, रेमी परियोजना र महासंघबीचको सहकार्यमा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूलाई रोजगारी उपलब्ध गराउने विषयमा पनि उद्योगीहरूसँग अन्तरक्रिया गरिएको थियो ।

कार्यक्रममा कोशी प्रदेशका करिब ४० जना गार्मेन्ट तथा टेक्सटाइल उद्योगका सञ्चालकहरूको सहभागिता रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट