विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-२ स्थित बिराट मेडिकल कलेज टिचिङ हस्पिटलको क्यान्टिनका रूपमा सञ्चालित बिराट किचनले खाद्य स्वच्छता स्तरमा सर्वोच्च श्रेणी (क) वर्ग अर्थात् अति उत्तम हासिल गरेको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले आज (मंगलबार) गरेको अनुगमनमा बिराट किचनले उक्त उपलब्धि हासिल गरेको हो ।
होटल एसोसिएसन कोशी प्रदेशका सचिव पूर्ण प्रसाद भट्टराईको संयोजकत्वमा गठित ७ सदस्यीय टोलीले अनुगमन सम्पन्न गरेको थियो । टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयकी प्रकृति वस्ती, राष्ट्रिय उपभोक्ता संघकी शोभा निरौला, बिराटनगर महानगरपालिकाका कृष्णप्रसाद पोखरेल, पर्यटन व्यवसायी सरोज पौडेल, बुढीगंगा गाउँपालिका-२ का वडा सदस्य मिना विश्वास र सहायक हवलदार सुजन प्रधान सम्मिलित थिए । अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयकी अप्सरा संग्रौला, हस्पिटलका प्रमुख प्रशासकीय अधिकृत प्रमेशराज देवकोटा र बिराट किचनका सञ्चालक रविकान्त साहको समेत उपस्थिति रहेको थियो ।
अनुगमन संयोजक तथा होटल एसोसिएसन कोशी प्रदेशका सचिव भट्टराईले बिराट किचनमा खाद्य गुणस्तर, सरसफाइलगायत सम्पूर्ण पक्षहरू पूर्णतः व्यवस्थित रहेको पाइएको बताए ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले खाद्य स्वच्छता स्तरलाई (क) अति उत्तम, (ख) उत्तम, (ग) सन्तोषजनक र (घ) सामान्य गरी चार वर्गमा वर्गीकरण गर्दछ । यसमध्ये सर्वोच्च वर्ग हासिल गर्नु बिराट किचनका लागि उल्लेखनीय उपलब्धि मानिएको छ ।
बिरामी, तिनका परिवारजन, अस्पताल कर्मचारी तथा आगन्तुकहरूलाई ताजा, पौष्टिक र स्वादिष्ट भोजन उपलब्ध गराउँदै आएको बिराट किचनमा हाल ६ जना विशेषज्ञ डाइटिसियन कार्यरत रहेका छन् । बिराट किचनका सञ्चालक रविकान्त साहका अनुसार डाइटिसियनहरूले प्रत्येक बिरामीको स्वास्थ्य अवस्था, उपचार प्रोटोकल र व्यक्तिगत रुचिलाई ध्यानमा राखी खाना योजना तयार गर्छन् । "हाम्रो लक्ष्य केवल भोक मेटाउने मात्र होइन, बिरामीहरूको शीघ्र स्वास्थ्यलाभमा योगदान पुर्याउने पनि हो," उनले बताए ।
हस्पिटलका प्रमुख प्रशासकीय अधिकृत प्रमेशराज देवकोटाले हस्पिटल परिसरभित्रै सुलभ मूल्यमा गुणस्तरीय खाना उपलब्ध हुने भएकाले बिरामी र तिनका परिवारजनलाई बाहिरी रेस्टुरेन्टमा जानुपर्ने बाध्यता नरहेको बताए । अन्तर्राष्ट्रिय स्वच्छता मापदण्डको कडाइका साथ पालना गर्दै आएको बिराट किचनले यस उपलब्धि मार्फत अस्पतालभित्रको खानपान सेवाको एक नयाँ मापदण्ड स्थापित गरेको छ ।
प्रतिक्रिया दिनुहोस