काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मातहतका निकायहरूमा नियमविपरीत प्रयोग भइरहेका सरकारी सवारी साधनहरू फिर्ता तान्न थालेको छ । मन्त्री निशा मेहताले पदभार ग्रहण गरेलगत्तै सरकारी स्रोतको दुरुपयोग रोक्न दिएको निर्देशनका आधारमा मन्त्रालयले सो अभियान थालेको हो ।
मन्त्रालयका अनुसार, कानुनतः सह–सचिव र सोभन्दा माथिका पदाधिकारीहरूले मात्र सरकारी सवारी साधनको सुविधा पाउने व्यवस्था छ । तर, लामो समयदेखि गाडीको सुविधा पाउने मापदण्डमा नपरेका कर्मचारीहरूले समेत विभिन्न बहानामा सरकारी सवारी साधनको प्रयोग गर्दै आएको पाइएको थियो । यस्तो बेथितिलाई चिर्न मन्त्री मेहताले दुरुपयोग भएका सबै गाडी मन्त्रालयमा फिर्ता गर्न मातहतका निकायलाई कडा निर्देशन दिएकी थिइन् ।
मन्त्रालय तानिएका सवारी साधनहरू अहिले मन्त्रालयको परिसरमा राखिएका छन् । मन्त्रालयले यी सवारी साधनहरू अब मनपरी ढङ्गले नभई कानुनबमोजिम आवश्यकताका आधारमा मात्र प्रयोग गरिने जनाएको छ । मन्त्रालयका कर्मचारीहरूले सेवा प्रवाह र कार्यसम्पादनको आवश्यकता हेरी कार्यविधिअनुसार मात्र ती गाडीहरू प्रयोग गर्नेछन् ।
सरकारी सम्पत्तिको दुरुपयोग रोक्न र मितव्ययिता अपनाउन मन्त्रालयले चालेको यस कदमलाई कर्मचारी वृत्तमा सकारात्मक रूपमा लिइएको छ ।
प्रतिक्रिया दिनुहोस