२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

वातावरण दिवसमा उपराष्ट्रपतिको सन्देश: 'जल, जमिन र जङ्गल संरक्षणको साझा सङ्कल्प'

शुक्रवार , जेठ २२, २०८३

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले वातावरणका लागि हानिकारक तत्त्वको प्रयोगलाई रोक्दै वातावरणमैत्री स्रोत, साधन र प्रविधिको उपयोगमा जोड दिनुपर्ने आवश्यकता औँल्याएका छन् ।

विश्व वातावरण दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उपराष्ट्रपति यादवले वातावरण संरक्षण गर्नु सामूहिक जिम्मेवारी भएको र वर्तमानलाई सुरक्षित राख्दै भविष्यलाई उज्ज्वल बनाउन सबैको दृढ सङ्कल्प तथा प्रतिबद्धता अपरिहार्य रहेको बताएका छन् ।

उनले भने, “पछिल्लो समय विश्व जलवायु परिवर्तन, प्रदूषण, जैविक विविधताको क्षयीकरण र फोहर मैला व्यवस्थापनजस्ता गम्भीर सङ्कटको सामना गरिरहेको अवस्था छ, यी चुनौतीबाट विशेष गरी ग्रामीण समुदाय, साना कृषक तथा विपन्न वर्ग बढी प्रभावित छन्, यसबाट उन्मुक्तिका लागि हामी सबैले हातेमालो गर्दै अघि बढ्नु अपरिहार्य छ ।”

उपराष्ट्रपति यादवले वनजङ्गलको फडानी, अव्यवस्थित सहरीकरण र अवैज्ञानिक पूर्वाधार निर्माणले वातावरणलाई गम्भीर सङ्कटमा पारेको भन्दै भावी पुस्ताको सुरक्षित भविष्य निर्माणमा सबै गम्भीर, सचेत र जिम्मेवार बन्नुपर्नेमा जोड दिएका छन् । वृक्षारोपण, वन विस्तार, हरित गृह ग्यास नियन्त्रण, नवीकरणीय ऊर्जाको प्रयोग र वातावरणमैत्री जीवनशैली अपनाउनु हाम्रो साझा दायित्व भएको उनको भनाइ छ ।

दिवसले जल, जमिन र जङ्गल जोगाउने हाम्रो साझा सङ्कल्पलाई बलियो बनाउने उपराष्ट्रपति यादवले विश्वास लिएका छन् । शुभकामना सन्देशमा भनिएको छ, “समयलाई फर्काउन सकिँदैन, तर वनजङ्गल विस्तार गर्न, पानीका स्रोत पुनर्जीवित गर्न र माटोको उर्वराशक्ति पुनः स्थापित गर्न सकिन्छ, वातावरण संरक्षण अभियानमा सक्रिय सबैप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै विश्व वातावरण दिवसले हामीलाई साझा सङ्कल्प, एकता र प्रतिबद्धतासहित अघि बढ्न प्रेरित गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।”

सन् १९७३ देखि संयुक्त राष्ट्रसङ्घ वातावरण कार्यक्रमको नेतृत्वमा मनाइँदै आएको यो दिवस वातावरण संरक्षणका लागि विश्वकै सबैभन्दा महत्त्वपूर्ण अन्तर्राष्ट्रिय अभियान हो । भूमि पुनर्स्थापना, मरुभूमि करण रोकथाम तथा खडेरी प्रतिरोधमा ध्यान केन्द्रित गर्दै नेपालसहित विश्वभर विविध कार्यक्रमको आयोजना गरी यो दिवस मनाइन्छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट