युवराज पाण्डे / नेपालगन्ज । बाँकेका कुनै पनि स्थानमा अहिले धान रोपाइँका बेला गोरु वा राँगाले खेत जोतेको दृश्य देख्न पाइँदैन । ह ह माले, ह ह तारेको कुनै आवाज पनि सुनिँदैन ।
खेतमा गह्रामा गोरु जुधेको र दौडेको देख्न मुस्किल छ । कृषि समयसँगै कृषि प्रणालीमा आएको परिवर्तनले खेतका फाँटमा ट्याक्टर र पावर टिलरको प्रयोग व्यापक रूपमा बढेको छ ।
कृषि कर्ममा गोरुको महत्व आफ्नै खालको थियो । तर आजकल न त गोरु देख्न पाइन्छ, न त किसानले गोरु धपाएको नै भेटिन्छ ।
जिल्लाभरका खेतमा अहिले ट्याक्टर र पावर टिलर कुदिरहेका छन् । यसले किसानलाई समय बचत हुनाका साथै रोपाइँको काम छिटो र सहज रूपमा सम्पन्न गर्न मद्दत पुगेको छ ।
बाँकेको जानकी गाउँपालिका–३, कर्मनाका किसान सुन्दर खटिकले समयसँगै धान रोपाइँ प्रणालीमा पनि परिवर्तन बताउछन् । आफूले धेरै वर्षदेखि ट्याक्टरको सहायताले खेत जोतेर धान रोपाइँ गर्दै आएको उनले जानकारी दिए ।
उनले यस वर्ष पनि दुई बिघा जमिन (बटैया) अधियामा खेती गरेका छन् । खेतीका लागि ट्याक्टर प्रयोग गरेर खेत जोतेको बताउँदै उनले प्रतिघण्टा रु दुई हजार पाँच सयदेखि तीन हजारसम्म शुल्क तिरेको जानकारी दिए ।
“केही किसानले आफ्नै घरमा ट्याक्टर राखेका छन, तर हामीसँग छैन । त्यसैले पैसा तिरेर जोत्न लगाउँछौँ,” उनले भने ।
अहिले धेरै किसानका घरमा खेत जोत्नका लागि गोरु वा राँगा नभएकाले अधिकांश किसानले ट्याक्टर वा पावर टिलरकै सहायताले खेत जोतेर धान रोपाइँ गरिरहेको उनको भनाइ छ ।
“अहिलेसम्म जति पनि रोपाइँ भएको छ, केहीमा पावर टिलर र केहीमा ट्याक्टरको रोटाभेटर प्रयोग गरेर खेत जोतिएको छ,” उनले भने ।
किसान खटिकले खेत जोत्नका लागि यान्त्रिकीकरण बढ्दै गएको उल्लेख गर्दै रोपाइँ गर्ने मजदुरले पनि प्रतिदिन रु ५०० देखि ८०० सम्म ज्याला लिने गरेको बताए । उनले भने, “मलखाद, रोपाइँ गर्ने मजदुरको ज्याला र ट्याक्टरलाई तिर्नुपर्ने रकमका कारण धानखेतीको लागत बर्सेनि बढ्दै गएको छ ।”
समयमै रासायनिक मल नपाउँदा धान उत्पादन घट्ने चिन्ता व्यक्त गर्दै उहाँले न्यून आय भएका किसानलाई सहुलियत उपलब्ध गराउन आग्रह गरे ।
कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख विनोद घिमिरेले धान रोपाइँ पहिलेभन्दा आधुनिक बन्दै गएको छ । उपकरणको प्रयोग बढेको छ । उनले किसान यान्त्रिकीकरणतर्फ लागेका छन् । उनले भने, “अहिले किसानले गोरु र राँगा पाल्न छाडेका छन् । त्यसैले कृषि प्रणालीमा यान्त्रिकीकरण तीव्र रूपमा बढिरहेको छ ।”
प्रमुख घिमिरेका अनुसार पछिल्लो समय स्थानीय तहहरूले किसानलाई हाते ट्याक्टर, पावर टिलरलगायत कृषि औजार वितरण गर्दै आएका छन् । जिल्लामा हालसम्म करिब ७० प्रतिशत धान रोपाइँ सम्पन्न भइसकेको उनले जानकारी दिए ।
सिँचाइ सुविधा भएका अधिकांश क्षेत्रमा रोपाइँ सकिएको छ भने आकाशे पानीको भरमा खेती गर्ने किसानले अझै रोपाइँ जारी राखेका छन् । विशेषगरी कोहलपुर, बैजनाथ र राप्तीसोनारीका अधिकांश क्षेत्रमा रोपाइँ सम्पन्न भइसकेको जनाइएको छ ।
नेपालगन्ज उपमहानगरपालिका–१७ का किसान जैनुल शेखले करिब १२ वर्षदेखि खेतमा गोरु वा राँगाले जोतेको दृश्य नदेखेको बताए । “अहिले जमाना फेरिएको छ । किसानले ट्याक्टर र पावर टिलरबाट खेत जोतेर लाभ लिइरहेका छन्,” उनले भने ।
उनले यस वर्ष ‘राम’ धानको खेती बढी भएको र ‘हाइब्रिड’ जातका धानको रोपाइँ पनि उल्लेख्य रूपमा बढेको जानकारी दिए । किसान शेखले विगतका वर्षको तुलनामा खेतमा रोपाइँ गर्ने मजदुरको पारिश्रमिक पनि बढेको छ ।
हाल दिनभर काम गरेबापत रु ६०० देखि रु ९०० सम्म पारिश्रमिक लिन थालेका छन् । “अहिले धेरैले आफ्नै घरमा ट्याक्टर र पावर टिलर राख्न थालेका छन्, तर हामीले भने ट्याक्टरबाट खेत जोताएर भुक्तानी गरेका थियौँ,” उनले भने ।
कृषि ज्ञान केन्द्र बाँकेकी कृषि प्रसार अधिकृत तथा सूचना अधिकारी सुजिता शर्माले प्रदेश सरकार स्थापना भएपछि यान्त्रिकीकरण कार्यक्रमअन्तर्गत जिल्लामा हालसम्म १८० वटा पावर टिलर, थ्रेसरलगायत कृषि उपकरण वितरण गरिएको जानकारी दिए ।
उनले ती उपकरण ५० प्रतिशत अनुदानमा वितरण गरिएको उल्लेख गर्दै पछिल्लो समय उपकरण वितरणसँगै सञ्चालन र मर्मतसम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम पनि सञ्चालन भइरहेको बताए ।
जिल्लाको ५५ हजार ८२६ हेक्टर खेतीयोग्य क्षेत्रफलमध्ये ३३ हजार ७८० हेक्टरमा धानखेती हुने गरेको छ । कृषि ज्ञान केन्द्र बाँकेका अनुसार हालसम्म २० हजार २६८ हेक्टरभन्दा बढी क्षेत्रमा धान रोपाइँ सम्पन्न भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस