काठमाडौं । सञ्चार क्षेत्रका तीनवटा महत्त्वपूर्ण सरकारी निकायहरूमा खुला प्रतिस्पर्धाबाट नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया सुरु भएको छ ।
सूचना तथा सञ्चार मन्त्रालयले आज एक सूचना प्रकाशित गर्दै प्रेस काउन्सिल नेपालको अध्यक्ष, सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष र गोरखापत्र संस्थानको महाप्रबन्धक पदका लागि दरखास्त आह्वान गरेको हो ।
मन्त्रालयका अनुसार योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले आगामी जेठ १८ गतेभित्र दरखास्त पेश गरिसक्नुपर्नेछ ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनपछि गठित बालेन्द्र (बालेन) शाह नेतृत्वको वर्तमान सरकारले अघिल्लो सरकारका पालामा भएका राजनीतिक नियुक्तिहरू खारेज गर्ने निर्णय गरेको थियो । सरकारको सोही निर्णयका कारण रिक्त रहेका यी शीर्ष पदहरूमा नयाँ नेतृत्व चयनका लागि मन्त्रालयले खुला विज्ञापनको प्रक्रिया अघि बढाएको हो ।
यसपटक खुला प्रतिस्पर्धालाई जोड दिँदै योग्य र व्यावसायिक व्यक्तिहरूलाई ती निकायको जिम्मेवारी दिने सरकारको तयारी छ । दरखास्त दिन चाहने उम्मेदवारका लागि आवश्यक पर्ने न्यूनतम योग्यता, कार्यअनुभव, दरखास्त फारम तथा साथमा संलग्न गर्नुपर्ने कागजात लगायतका विस्तृत विवरणहरू सूचना तथा सञ्चार मन्त्रालयको आधिकारिक वेबसाइटमा उपलब्ध गराइएको सूचनामा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस