काठमाडौ / पुर्व पञ्चहरुले नेतृत्व गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) विभाजनको डिलमा पुगेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनसँग असहमती जनाउदै पार्टी महामन्त्री डाक्टर धवलशम्सेर राणा सहित १८३ जना नेता कार्यकर्ताहरुले सामुहिक राजीनाम दिएपछि पुर्व पञ्चहरुको पार्टी विभाजनको डिलमा पुगेको हो ।
पटक पटक विभाजन हुदै आएको राप्रपाका केही समय अगाढी मात्रै राप्रपा नेपालका अध्यक्ष कमल थापा पुरानै पार्टीमा फर्कीएका थिए । राजसंस्था पुनस्थापनाको माग गर्दै आएको राप्रपाले फागनु २१ ग्ते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा नराम्रो धक्का खाएको थियो । निर्वाचनमा प्रत्यक्ष तर्फ जुम्ला जिल्लाबाट ज्ञानेन्द्र शाहीले मात्रै जितेका थिए । शाही पनि अध्यक्ष लिङदेनले नेतृत्व छाड्नु पर्छ भन्नेमा छन् ।
राप्रपा महामन्त्री राणा सहित चार पदाधिकारीले पार्टीभित्र वैचारिक विचलन, नेतृत्वको कार्यशैली र सांगठनिक कमजोरीप्रति असन्तुष्टि जनाउँदै पार्टीबाट अलग हुने निर्णय गरेका छन् ।
पार्टीका महामन्त्री डा. धवलशमशेर राणा, उपाध्यक्ष मुकुन्दश्याम गिरी, नेता एवं पूर्वमन्त्री दिलनाथ गिरी र नेता केशव राज श्रेष्ठ सहित १८३ नेता कार्यकर्ताहरुले संयुक्त विज्ञप्ति जारी गर्दै राप्रपासँगको सम्बन्ध समाप्त भएको घोषणा गरेका हुन् ।
विज्ञप्तिमा राप्रपाको स्थापनाको मूल उद्देश्य, वैचारिक आधार र संवैधानिक राजसंस्थासहितको प्रजातान्त्रिक व्यवस्थाको एजेन्डाबाट पार्टी विचलित भएको आरोप लगाइएको छ । महाधिवेशनपछि पार्टीमा नयाँ ऊर्जा र सम्भावनाको अपेक्षा गरिए पनि नेतृत्वको संकीर्ण सोच, आत्मकेन्द्रित शैली र गलत निर्णयका कारण सम्भावना कमजोर हुँदै गएको उनीहरूको भनाइ छ ।
नेताहरूले पार्टीको मूल विचार र मान्यताविपरीतका गतिविधि बढ्दै गएको भन्दै पटक–पटक ध्यानाकर्षण गराउँदा पनि नेतृत्वबाट सुधारको पहल नभएको दाबी गरेका छन् ।
उनीहरूले राप्रपाले पछिल्लो समय लिएको राजनीतिक बाटो, संगठन सञ्चालन शैली र निर्णय प्रक्रियाप्रति असहमति जनाउँदै पार्टी छाड्ने निष्कर्षमा पुगेको बताएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘जुन मान्यता र उद्देश्य लिएर राप्रपाको स्थापना भएको थियो, ती सबै मेटिँदै गएको महसुस भयो । त्यसैले आजको मितिबाट राप्रपासँग सम्बन्धित सबै जिम्मेवारी परित्याग गरेका छौं ।’ राप्रपा महामन्त्री राणाको नेतृत्वमा अर्काे पार्टी गठनको तयारी समेत भएको राप्रपा स्रोतको दाबी छ । नयाँ गठन हुने पार्टीमा राजसंस्था फर्काउ अभियानको नेतृत्व गरिरहेका मेडिकल व्यावसायी दुर्गा प्रसाईलाई समेत सहभागी गराउनका लागि छलफल भइरहेको छ । केही दिन अघि मत्रै राप्रपाका पुर्व अध्यक्ष पशुपति शम्सेर राणा लगायतले पार्टीलाई एकताबद्ध गराउन आह्वान गरे पनि महामन्त्री राणा सहितले पार्टी परित्याग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस