काठमाडौं । यातायात व्यवस्था विभागले देशभर सञ्चालन हुने सार्वजनिक सवारी साधनहरूको नयाँ दर्ता प्रक्रियामा पूर्ण रूपमा रोक लगाएको छ । विभागले बढ्दो ट्राफिक जाम, वायु प्रदूषण तथा सडक क्षमताभन्दा बढी सवारी चापलाई कारण देखाउँदै अर्को सूचना जारी नभएसम्मका लागि नयाँ दर्ता बन्द गर्ने निर्णय गरेको हो ।
विभागका निर्देशक मणि राम भुसालद्वारा जारी गरिएको परिपत्रमा देशभरका सबै प्रदेश सरकार, सम्बन्धित मन्त्रालय तथा स्थानीय तहहरूलाई नयाँ दर्ता रोक्न निर्देशन दिइएको छ ।
परिपत्रमा पेट्रोलियम इन्धनबाट चल्ने सवारी साधन मात्र होइन, वातावरणमैत्री मानिएका विद्युतीय सार्वजनिक सवारी साधनको समेत नयाँ दर्ता रोक्ने स्पष्ट व्यवस्था गरिएको छ ।
विभागले निर्णयको कारणस्वरूप सार्वजनिक यातायातको अव्यवस्थित व्यवस्थापन, प्रमुख सहरहरूमा बढ्दो वायु प्रदूषण, सडकमा अत्यधिक सवारी चापका कारण उत्पन्न ट्राफिक जाम तथा इन्धन मूल्य वृद्धिले सिर्जना गरेको आर्थिक दबाबलाई उल्लेख गरेको छ ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा २४ को उपदफा (३) अनुसार उपलब्ध अधिकार प्रयोग गरी यो निर्णय गरिएको विभागले जनाएको छ । यसअनुसार सार्वजनिक हितका लागि आवश्यक ठानेर विभागले तत्काल नयाँ सवारी दर्ता प्रक्रिया रोक्ने अधिकार प्रयोग गरेको हो ।
प्रतिक्रिया दिनुहोस