२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

रौतहटको जङ्गलमा पाटेबाघ गणना हुँदै: संरक्षण र मानव–बाघ द्वन्द्व न्यूनीकरणका लागि सक्रिय

सोमवार , जेठ ११, २०८३

रौतहट । बाघको संरक्षण गर्न सबै तह र तप्काबाट लाग्नुपर्ने आवश्यकता औँल्याइएको छ ।

बाघ संरक्षण तथा मानव–बाघ द्वन्द्व न्यूनीकरणसम्बन्धी सञ्चारकर्मीलाई लक्षित गर्दै आइतबार चन्द्रनिगाहपुरमा आयोजित सचेतनामूलक कार्यक्रममा डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्तप्रसाद साहले यस्तो बताएका हुन् ।

बाघप्रति आमनागरिकले सकारात्मक धारणा बनाए मात्रै यसको संरक्षण हुने बताउँदै उनले बाघ भएको ठाउँ सुन्दर जङ्गल हुने हुँदा बाघ मार्ने वा बाघसँग दुस्मनी गर्ने काम कसैले पनि गर्न नहुने विचार व्यक्त गरे ।

रौतहटको जङ्गलमा बाघको सङ्ख्या यकिन नभए पनि यहाँका विभिन्न जङ्गलमा बाघ बस्दै आएको देखिएको छ, साहले भने, यहाँ लोपोन्मुख अवस्थामा रहेको पाटेबाघ छ । लमाहा नदीको माथिल्लोदेखि तल्लो क्षेत्र, धन्सारको वन क्षेत्र, हातेमालो सामुदायिक वन उपभोक्ता समूह र रङ्गपुर साझेदारी वनको सतियारी वनक्षेत्र, गैँडाटारको वनक्षेत्र, बागमतीको जुडिबेला र पौराइको वनक्षेत्र, रामलाल वृन्दावन साझेदारीको वनक्षेत्र तथा फतुवा विजयपुरको नमस्ते सामुदायिक वन क्षेत्रमा बाघको बसोबास रहँदै आएको छ ।

बाघले मुख्य रूपमा जरायो, चित्तल, बँदेल, बाह्रसिङ्गेलगायतका जनावरलाई आहाराका रूपमा प्रयोग गर्ने उनले जानकारी दिए ।

नेपालमा बाघको सङ्ख्या ३५५ रहेको जानकारी दिँदै डिभिजन वन प्रमुख साहले रौतहटमा पनि बाघको गणना भइरहेको र केही समयपछि सङ्ख्या यकिन हुने बताए। पाटेबाघको शारीरिक बनावट, स्वभाव, आहारा, बासस्थान तथा आक्रमण गर्ने शैलीबारे जानकारी दिँदै उनले बाघले सामान्यतया मानिसबाट टाढा बस्न रुचाउने तर आत्मसुरक्षा वा बच्चाको सुरक्षाका लागि आक्रमण गर्न सक्ने स्पष्ट पारे। कार्यक्रममा उनले बाघ संरक्षणको महत्त्व, चुनौती तथा रौतहटमा बाघको अवस्थाबारे प्रकाश पारेका थिए ।

रौतहटमा बाघको आक्रमणका घटनाहरू

वि.सं. २०७७ असोज १४ गते रौतहटमा बाघको आक्रमणबाट चन्द्रपुर नगरपालिका–६ का २७ वर्षीय सङ्गम भण्डारीको मृत्यु भएको थियो । भण्डारीको कम्मरभन्दा तलको भाग बाघले खाएको अवस्थामा जङ्गलमा शव फेला परेको थियो । उनलाई खोज्न गएका दुई युवकलाई पनि सोही समयमा बाघले आक्रमण गरी घाइते बनाएको थियो ।

यसैगरी, २०७८ साल असोज २१ गते रौतहटको लमाहा जङ्गलमा बाघले आक्रमण गर्दा चन्द्रपुर–६ थोकरटोलका यज्ञबहादुर रायमाझी घाइते भएका थिए । बिहान घाँस लिन जङ्गल गएका रायमाझीलाई राजमार्गछेउमै बाघले आक्रमण गरेको थियो ।

त्यस्तै, २०८१ मङ्सिर १५ गते रौतहटको गुजरा नगरपालिका–१ का वडाध्यक्ष रामजित चौधरी र बौराही चौधरीलाई बाघले आक्रमण गरी घाइते बनाएको थियो। गुजरा–१ राईटोलमा आफ्नै घरनजिक रहेको आलुबारीमा पानी लगाउन गएका बेला बौराहीमाथि बाघले आक्रमण गरेको र उनलाई बचाउन गएका वडाध्यक्ष रामजितलाई समेत बाघले झम्टिएर घाइते बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ