रोल्पा । रोल्पाको माडी गाउँपालिका–२ घर्ती गाउँस्थित व्याङखोलामा बोलेरो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
आज बिहान करिब ८ बजे सडकबाट अनियन्त्रित भएर बोलेरो जिप करिब ६ सय मिटर तल भिरमा खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा दुई पुरुष र एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।
मृतकहरूको पहिचान खुल्न सकेको छैन । जिप भिरालो स्थानमा खसेकाले नम्बरसमेत स्पष्ट देखिन नसकेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा पुगेको प्रहरी टोलीले उद्धार तथा थप अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डीएसपी पञ्चकुमार बाखु लगायतको सुरक्षाकर्मीको टोली अहिले घटनास्थलतर्फ जाँदै गरेका छन् ।
प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार दुर्घटनामा परेको बोलेरोमा जस्तापाता, पाइपलगायतका निर्माण सामग्री भेटिएको छ ।
प्रतिक्रिया दिनुहोस