logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • सफल पारसको अप्रत्यासित सन्यास : अब क्रिकेटर होइन व्यवस्थापक 

    सफल पारसको अप्रत्यासित सन्यास : अब क्रिकेटर होइन व्यवस्थापक 

    2.2K
    Shares

    काठमाडौं। नेपाली क्रिकेटमा पारस खड्काको नामै काफी  छ। उनी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान मात्र होइनन्। वास्तवमा नेपाली क्रिकेटलाई विश्वभर गहिरो परिचय दिने काम कसैले गरेको छ, भने उनै पारसले गरे।

    नेपाली क्रिकेट डेढदशक बढी समय पारसकै पेरिफेरिमा घुम्यो। उनले टोलीको सफल कप्तान, उत्कृष्ट खेलाडी, कुशल रणनीतिकारका रुपमा समेत नेपाली क्रिकेटलाई विश्वभर चिनाए। नेपाली क्रिकेटले जे जति सफलता पायो। त्यो पारसकै सक्रिय खेल जीवनमा प्राप्त गरेको छ। तर नेपालका यी सबैभन्दा सफल खेलाडी पारसको व्यक्तिगत निर्णय भने अप्रत्यासित रुपमा हुँदै आएको छ।

    मंगलबार मात्र पारसले सामाजिक सञ्जालमार्फत अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यासको घोषणा गरेका छन्। धेरैलाई लागेको थियो। पारसले कुनै ठूलो प्रतियोगिता खेलेर वा ठूलै समारोहबीच सन्यास घोषणा गर्नेछन्। सरकारले समेत उनलाई उचित पुरस्कार सहित ससम्मान बिदाई गर्नेछ।

    तर, सन्यास दुनियाले सोचेजस्तो भएन। हजारौं समर्थकले सोचेभन्दा फरक रुपमा पारसले सामाजिक सञ्जालमार्फत सन्यासको घोषणा गरेका छन्। दुई वर्षअघि पारसको कप्तान पदबाट राजीनामा पनि अप्रत्यासित रुपमै आएको थियो।

    सन् २०१९ अक्टोबरमा पारसले राष्ट्रिय टोलीको कप्तानीबाट राजीनामा दिएका थिए। त्यसपछि टोलीको कप्तानी ज्ञानेन्द्र मल्लले सम्हाल्दै आएका छन्। टोलीमा राम्रो प्रदर्शन गरिरहेका उनै ३४ वर्षीय पारसको एकाएक सन्यासले अहिले सामाजिक सञ्चाल रंगिएको छ। आम क्रिकेट सर्मथकमा कौतुहलता छाएको छ।

    Paras-04.jpg

    पारसले सन्यास घोषणा गर्दै सामाजिक सञ्चालमा लेखेका छन्,‘सम्पूर्ण नेपाली क्रिकेट समर्थक र सरोकारवाला प्रति कृतज्ञता व्यक्त गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने निर्णय लिएको छु। नेपालका लागि खेल्नु मेरो जीवनको सर्वश्रेष्ठ उपलब्धि हो।’

    उनले भनेका छन्, ‘सन् २००२ मा १५ वर्ष हुँदा मैले सुरु गरेको क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने प्रशिक्षक, साथी खेलाडी, प्रशंसकहरु, सरोकारवाला, मिडियाकर्मी, मेरो परिवार र साथीहरु प्रति म सदैव ऋणी रहनेछु। क्रिकेटरको रुपमा मैले आफ्नो मन, वचन, कर्मले कर्तव्यनिष्ठ भइ देश र नेपाली क्रिकेट जगतको उत्थानको लागि सदैव आफ्नो भूमिका निर्वाह गरें। मेरो जीवनमा मैले देखेको सपना भनेको नै नेपाली क्रिकेटको उन्नति हो। तर यसका लागि सम्पूर्ण क्रिकेट समाज र सरोकारवालाको संयुक्त प्रयासको आवश्यकता छ। इमान्दारिताका साथ काम गर्ने हो भने हामीले नेपाली क्रिकेटलाई अवश्य पनि एउटा नयाँ उचाइमा पुर्याउनेछौं।’

    पारसले मैदानको दुई दशकलाई सुनौलो समय भनेका छन्। ‘मैदान भित्रका यी दुई दशक, जीवन रहुन्जेल, मिठो यादको रुपमा मसंग रहनेछन्। हामी सबैले मिलेर नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्याउने छौं भन्ने विश्वास लिएको छु,’ पारसले भनेका छन्।

    पारसले अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिए पनि घरेलु क्रिकेटलाई भने निरन्तरता दिने बताएका छन्। उनी आगामी असोज ९ गतेदेखि टियु मैदान कीर्तिपुरमा हुने चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (इपीएल ) क्रिकेटमा विराटनगर वारियर्सको कप्तानको रुपमा देखिनेछन्। पारसका लागि अन्तिम अन्तर्राष्ट्रिय खेल गत वर्ष मार्चमा थाइल्याण्डमा भएको एसीसी इस्टर्न रिजन टीट्वान्टी प्रतियोगिता भएको छ।

    टीट्वान्टी विश्वकप ठूलो उपलब्धि 
    सन् २००९ मा नेपालको कप्तानी सम्हालेका पारस सबैभन्दा धेरै वर्ष नेपालको कप्तानी गर्ने खेलाडी पनि हुन्। सर्वाधिक सफल कप्तान पारसका लागि सबैभन्दा ठूलो उपलब्धि सन् २०१४ मा बंगलादेशमा भएको टीट्वान्टी विश्वकप पुर्याउनु हो।

    नेपाली सिनियर टोलीका लागि त्यो टीट्वान्टी विश्वकप नै पहिलो र अन्तिम विश्वकप सहभागिता भएको छ। पारसको कप्तानीमा नेपालले २०१८ मा एक दिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता पाउनु अर्को ठूलो उपलब्धि रह्यो।

    उनकै कप्तानीमा नेपालले सन् २०१८ मा नेदरल्याण्डविरुद्ध पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल जितेको थियो। पारसकै कप्तानीमा नेपालले सन् २०१० मा आईसीसी विश्व क्रिकेट लिग डिभिजन–५, सन् २०१२ मा डिभिजन–४, सन् २०१३ र २०१४ मा डिभिजन–३ को उपाधि जित्न सफल भयो। सन् २०१२ को एसीसी ट्रफीमा नेपाललाई युएईसँगै संयुक्त विजेता बनाउन पनि पारसको भूमिका उल्लेख्य रह्यो।

    पारसको कप्तानीमा नेपालले २७ वटा टीट्वान्टी अन्तर्राष्ट्रिय खेल खेलेको छ। जसमा नेपालले ११ जित र १५ हार आत्मसाथ गर्यो। उनको कप्तानीमा नेपालले ६ वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दा ३ जित र ३ हार खेपेको थियो।

    Paras-khadka.jpg

    नेपालका सर्वाधिक रनकर्ता 
    पारस नेपालको एकदिवसीय  र टीट्वान्टी अन्तर्राष्ट्रियमास्पर्धामा सर्वाधिक रन बनाउने खेलाडी पनि हुन्। उनले एकदिवसीयमा १० खेलमा एक शतक र एक अर्धशतक सहित तीन सय १५ रन बनाएका छन्। उनले टीट्वान्टीको कुल ३३ खेलमा एक शतक र चार अर्धशतक सात सय ९९ रन बनाएका छन्। नेपालका लागि दुवै फरम्याटमा शतक प्रहार गर्ने उनी पहिलो नेपाली खेलाडी पनि हुन्।

    उनले सन् २०१९ मा युएईविरुद्धको एक दिवसीयमा र सोही वर्ष सिंगापुरविरुद्धको टीट्वान्टी अन्तर्राष्ट्रियमा शतक प्रहार गरेका थिए। सन् २००४ मा भएको आईसीसी इन्टर कन्टिनेन्टल कप अन्तर्गत मलेसियाविरुद्धको खेलबाट सिनियर राष्ट्रिय क्रिकेट टोलीमा डेब्यु गरेका पारसले उमेर समूहका सबै खाले खेलमा पनि टोलीको नेतृत्व गर्दै आएका थिए।

    पारसले सन् २००२ मा यूएईमा भएको यू–१५ एसिया कपमा पहिलोपटक नेपाली राष्ट्रिय टोलीको जर्सी लगाएका थिए। त्यसपछि यू–१९ टोलीमा सामेल भए। उनले सन् २००४, २००६ र २००८ तीनवटा यू–१९ विश्वकप खेले।

    नेपाललाई टीट्वान्टी विश्वकपदेखि ओडीआई मान्यतासम्म पुर्याउन सफल पारसको सन्यासले नेपाली क्रिकेट जगतलाई आश्चर्य तुल्याएको छ। संयोगवश पारसले पहिलो ओडिआई खेल जितेकै दिन अर्थात् अगस्ट ३ तारिख सन्यास लिएका छन्। सन् २०१८ को अगस्ट ३ तारिखकै दिन पारसको कप्तानीमा नेपालले नेदरल्यान्ड्सलाई एक रनले हराउँदै ऐतिहासिक ओडिआई खेल जितेको थियो।

    Paras-05.jpg

    पारस अब व्यवस्थापक  
    सानोमा टुँडीखेलमा क्रिकेट खेल्दै हुर्किएका पारस उच्चशिक्षा र आर्थिक उपार्जनका लागि अष्ट्रेलिया जान चाहन्थे। जब उनले उमेर समूहहुँदै राष्ट्रिय टोलीमा स्थान बनाए। क्रिकेटको भूतले उनलाई विदेशको बाटो बन्द गरिदियो। क्रिकेटमै सबै पाएको बताउँदै आएका पारस अझै क्रिकेटको व्यवस्थापकीय भूमिकामा आउन चाहिरहेका छन्।

    नेपाल क्रिकेट संघ (क्यान) आईसीसीबाट निलम्बन हुँदा पारस आफैले नेपाल र आईसीसबीच समन्वय गर्ने, खेलाडी छनोट गर्ने, टोलीको मेन्टरदेखि आफै खेलाडीको रुपमा सक्रिय भए। क्यानको नयाँ निर्वाचन र आईसीसीको निलम्बनबाट फुकुवा भएपछि पारसले एकाएक कप्तानबाट राजीनामा दिएका थिए।

    नेपाली क्रिकेटको व्यवस्थापनमा आउन उनले तयारी पनि गरिरहेका छन्। पारसको सक्रियतामा पोखरामा आयोजना हुँदै आएको पोखरा प्रिमियर लिग, बलियो नेपाल फाउन्डेसनलगायत कार्यक्रम त्यसैको उपज हो।

    यसअघि कप्तान पद छाड्दा पनि पारस आफैले भविष्यमा नेपाल क्रिकेट संघ (क्यान) को नेतृत्वमा आउन चाहेको बताएका थिए। ‘भविष्यमा मैले नेपाल क्रिकेट संघको नेतृत्व गर्ने सोचेको छु। तर, त्यो सोचेजस्तो सजिलो छैन। त्यसका लागि पूरै नयाँ संरचनामा आफूलाई ढाल्न सक्नुपर्छ,’ पारसले भनेका थिए।

    नेपाली राजनितिले गाँजेको खेलकुदमा क्यान नेतृत्वको रुपमा आउन पारसलाई कतिको सजिलो होला ? त्यो विषय भविष्यले बताउने छ।

    parash.jpg

     

      


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend