२०८३, आषाढ २ गते

मंगलवार, आषाढ २ गते २०८३

डिजिटल शक्ति अभावले एमालेलाई गम्भीर धक्का : अध्यक्ष ओली

मंगलवार , आषाढ २, २०८३

विराटनगर । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको मानव स्रोतलाई डिजिटल शक्तिमा रूपान्तरण गर्न नसक्दा एमालेले गम्भीर राजनीतिक क्षति बेहोर्नुपरेको बताएका छन् ।

एमाले केन्द्रिय कार्यालयले मंलगलबार विराटनगरमा आयोजना गरेको प्रदेशस्तरीय निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धी सुझाव सङ्कलन कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष ओलीले अन्य क्षेत्रमा पनि चुनौती देखिए तापनि सबैभन्दा ठूलो धक्का सूचना तथा डिजिटल क्षेत्रको कमजोरीका कारण भएको बताए ।

उनले आफू नेतृत्वको सरकारले विकास, सुशासन र राष्ट्रिय हितका क्षेत्रमा महत्वपूर्ण काम गरेको दाबी गर्दै ती उपलब्धिहरू जनतामाझ प्रभावकारी रूपमा पुर्याउन नसकिएको स्वीकार गरे । “हाम्रा विरुद्ध भएका गलत प्रचारको प्रतिवाद गर्न सकेनौं, सत्यको प्रचार गर्न सकेनौं र असत्यको खण्डन गर्न पनि सकेनौं,” उनले भने ।

अध्यक्ष ओलीले संविधान निर्माणदेखि नै विभिन्न अवरोधहरू सामना गर्दै पार्टी अघि बढेको स्मरण गर्दै दुवै छिमेकी मुलुकसँगको सम्बन्ध सुदृढ बनाउनुका साथै सामाजिक क्षेत्रको विकासमा समेत योगदान पुगेको दाबी गरे । तर ती उपलब्धिहरूको प्रभावकारी प्रचारप्रसार हुन नसक्दा विरोधी शक्तिहरूले भ्रम फैलाउन सफल भएको उनको भनाइ थियो ।

उनले पार्टीविरुद्ध योजनाबद्ध रूपमा गलत प्रचार गरिएको आरोप लगाउँदै भदौ २४ गते भएको आगजनी तथा हिंसात्मक घटनालाई समेत एमालेविरुद्धको अभियानसँग जोडेर व्याख्या गरे । “आतङ्क र भ्रमको वातावरण सिर्जना गरेर एमालेलाई बदनाम गराइयो,” उनले भने । 

722752313_1327803005470323_6360730695196297691_n.jpg

विराटनगरमा प्रदेशस्तरीय समीक्षा सुरु

प्रतिनिधिसभा निर्वाचनमा अपेक्षाभन्दा कमजोर परिणाम आएपछि एमालेले सुरु गरेको देशव्यापी निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी सुझाव सङ्कलन अभियानअन्तर्गत कोशी प्रदेशस्तरीय छलफल विराटनगरमा सुरु भएको हो ।

पार्टीले उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा गठन गरेको कार्यदलमार्फत देशभर समीक्षा अभियान सञ्चालन गरिरहेको छ । विराटनगरमा आयोजित कार्यक्रममा उपाध्यक्षहरू विष्णु पौडेल र पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेल तथा सचिवहरू भानुभक्त ढकाल, शेरधन राई र हिक्मत कार्की सहभागी छन् ।

छलफलमा कोशी प्रदेशका केन्द्रीय सदस्य, प्रदेश कमिटी सचिवालय सदस्य, १४ जिल्लाका पदाधिकारी तथा जनवर्गीय संगठनका प्रतिनिधिहरूको सहभागिता रहेको छ ।

722767405_1024752337163321_2974734859422174180_n.jpg

एमालेले असार १९ गतेसम्म देशव्यापी समीक्षा अभियान सम्पन्न गर्ने लक्ष्य लिएको छ । यसअघि बागमती प्रदेशमा  समीक्षा सम्पन्न भईसकेको छ । 

गत प्रतिनिधिसभा निर्वाचनमा अपेक्षाकृत कमजोर नतिजा सामना गरेपछि एमालेभित्र आत्मसमीक्षा, संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीतिबारे व्यापक बहस सुरु भएको छ । कोशी प्रदेशस्तरीय छलफलबाट प्राप्त सुझावहरूले पार्टीको आगामी संगठनात्मक पुनर्संरचना र राजनीतिक कार्यदिशा तय गर्न महत्वपूर्ण आधार प्रदान गर्ने विश्वास गरिएको छ । मंगलबार जिल्लाले अध्यक्षहरुले लिखित सुझावहरु पेश गर्ने कार्यतालिका छ । बुधबार अझ बृहत छलफल कार्यक्रम राखिएको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट