चितवन । प्रधानमन्त्री बालेन्द्र शाहले सरकारी सम्पत्ति र सार्वजनिक रकमको दोहन गर्नेहरूमाथि आफ्नो सरकार थप आक्रामक रूपमा प्रस्तुत हुने संकेत दिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै शाहले विगतका आर्थिक अनियमितता र भ्रष्टाचारका घटनामा आवश्यक परे ‘निहुँ खोजेरै’ कारबाहीको दायरामा ल्याइने बताएका हुन्।
केही दिनअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखसहित पदाधिकारीहरूलाई प्रधानमन्त्री कार्यालयमा करिब पाँच घण्टा राखेर छलफल गरिएको र त्यसक्रममा राहदानी विभागका प्रमुखविरुद्ध पक्राउ प्रक्रिया अघि बढाइएको विषय राजनीतिक विवाद बनेको थियो। उक्त घटनाबारे प्रधानमन्त्री कार्यालयले यसअघि औपचारिक प्रतिक्रिया नदिए पनि शाहले आइतबारको सम्बोधनमार्फत त्यस घटनालाई अप्रत्यक्ष रूपमा स्वीकार गरेका छन्।
सम्बोधनका क्रममा उनले भने, ‘विगतका दिनमा फट्याइँ भएका छन्, सरकारी सम्पत्ति दोहन भएको छ, सरकारी रकमको दोहन भएको छ भने त्यहाँ निहुँ खोज्न जरुरी हुन्छ, त्यहाँ निहुँ खोज्छौँ हामी। त्यो निहुँ खोज्दा अख्तियारलाई ५ घण्टा सोधपुछ गर्नुपर्छ, सरसल्लाह लिनुपर्छ भने ५ घण्टा मात्र होइन, ५ वर्ष गर्छौँ। पाँच वर्ष अख्तियारलाई राखेर सरसल्लाह गरिन्छ । ’
शाहले रास्वपालाई परम्परागत वाम, दक्षिण वा केन्द्रवादी विचारधाराभन्दा फरक ‘विकासवादी पार्टी’ का रूपमा चित्रित गरे। ‘हाम्रो पार्टीको चिन्तन लेफ्ट हो, राइट हो, सेन्टर हो भन्ने प्रश्न उठ्छ। हाम्रो पार्टी विकासवादी पार्टी हो। विकास गर्ने, काम गर्ने पार्टी हो,’ उनले भने ।
उनले सरकार कानुनी सीमाभित्रै रहेर अघि बढ्ने दाबी गर्दै कुनै पनि अवस्थामा नियम–कानुन नमिच्ने बताएका छन्। ‘हामीले नियम–कानुन मिच्दैनौँ। नियममा बसेरै काम गर्छौँ। नियमभन्दा बाहिर जाँदैनौँ,’ उनले भने।
शाहले रास्वपालाई परम्परागत वाम, दक्षिण वा केन्द्रवादी विचारधाराभन्दा फरक ‘विकासवादी पार्टी’ का रूपमा चित्रित गरे। ‘हाम्रो पार्टीको चिन्तन लेफ्ट हो, राइट हो, सेन्टर हो भन्ने प्रश्न उठ्छ। हाम्रो पार्टी विकासवादी पार्टी हो। विकास गर्ने, काम गर्ने पार्टी हो,’ उनले भने ।
उनले रास्वपा प्रतिशोधको राजनीतिमा विश्वास नगर्ने तर सार्वजनिक सम्पत्तिको दुरुपयोग भएको पाइएमा त्यसको खोजी र छानबिनबाट पछि नहट्ने स्पष्ट पारे। “हामी पुराना कुरा लिएर निहुँ खोज्दै बस्ने पार्टी होइनौँ। तर राज्यको सम्पत्ति र रकमको दोहन भएको छ भने त्यहाँ निहुँ खोज्नैपर्छ,” उनको भनाइ थियो।
प्रधानमन्त्री शाहले आफ्नो नेतृत्वको सरकारले विगतमा ‘फट्याइँ र बदमासी’ गर्ने कसैलाई पनि नछाड्ने चेतावनीसमेत दिए। उनले सरकारको दृष्टिकोण अतीतमुखी नभई भविष्यमुखी रहेको दाबी गर्दै विकास र सुशासनलाई मुख्य प्राथमिकतामा राखिएको बताए।
शाहको यो अभिव्यक्ति अख्तियारका पदाधिकारीहरूसँग प्रधानमन्त्री कार्यालयमा भएको लामो बैठक र त्यसलाई लिएर संसद्सम्म पुगेको विवादको पृष्ठभूमिमा आएको हो। यसअघि उक्त घटनाबारे सरकार मौन रहेकामा आलोचना भइरहेको थियो। आइतबारको भाषणले भने भ्रष्टाचार तथा आर्थिक अनियमितताका मुद्दामा सरकार अझ कडा रूपमा प्रस्तुत हुने संकेत दिएको राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ।
प्रतिक्रिया दिनुहोस