शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

नयाँ यात्राका लागि तयार छु, केपी ओलीसँग झुक्दिनँ : माधव नेपाल (भिडियाेसहित)

नयाँ यात्राका लागि तयार छु, केपी ओलीसँग झुक्दिनँ : माधव नेपाल (भिडियाेसहित)

नेकपा (एमाले) विपक्षमा छ । तर, वरिष्ठ नेता माधवकुमार नेपाल समूह सत्ता पक्षीय गठबन्धनको हर्ताकर्ता हो । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बने पनि सत्ताको चाबी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालको हातमा देखिन्छ । पार्टी अध्यक्ष केपी ओलीलाई पदच्यूत गरेर देउवालाई प्रधानमन्त्री बनाएको नेपाल समूह देउवा प्रधानमन्त्री बनेको करिब एक महिना पुग्नलाग्दा पनि सरकारमा सहभागी हुन सकेको छैन । एमाले छोड्न नसक्ने र नयाँ पार्टी पनि खोल्न नसक्ने भन्दै उनको आलोचना हुने गरेको छ । सत्ता गठबन्धन र एमाले विवादको विषयमा नेता नेपालसँग सुनौलो नेपालका लागि दिनेश लुइटेलले गरेको कुराकानी :

विपक्षी गठबन्धनसँग मिलेर संविधानको रक्षा गर्न सफल हुनुभयो । तर, यो सफलताले अरु कसैलाई फाइदा भए पनि तपाईँलाई त घर न घाटको बनायो नि ?

राजनीतिमा यस्ता किसिमका अप्ठ्यारा क्षणहरु आउँछन् । कसैकसैका निम्ति सहज क्षणमात्र आउने गर्छन् । तर, अधिकांशका निम्ति अप्ठ्यारा क्षण आउँछन् । चुनौतीका क्षणलाई उच्च मनोबलका साथ गहिरो दृष्टि राखेर, समग्र पक्षलाई विचार गरेर सामना गर्नुपर्छ । जसले चुनौतीको सामना गर्न सक्दैन त्यो वास्तवमा भन्नु हुन्छ भने आँटिलो मान्छे मात्र होइन आँटिलो नेता पनि बन्न सक्दैन । मेरो राजनीतिक जीवनमा यस्ता धेरै क्षण आएका छन् । यस्ता क्षण आवश्यक पनि छन् । अहिले एक किसिमले भन्नुहुन्छ भने हामी संक्रमणकालीन अवस्थामा उभिएका छौँ ।  जुन क्षणबाट म गुज्रिएको छु । त्यो यथार्थता र वास्तविकतामा हो । त्यसमा फेरि पनि विजय प्राप्त गरिन्छ भन्ने विश्वास मलाई छ ।

दुईवटा डुंगामा एउटा–एउटा खुट्टा राख्नुभएको छ । यसले तपाईँलाई दुर्घटनातर्फ धकेल्छ भन्ने लागेको छैन ?

दुईटा डुंगामा त उहिलेदेखि नै खुट्टा राखेको हो । जब द्वन्द्व हुन्छ तब दुई पक्ष हुन्छ हुन्छ ।  द्वन्द्व नै जीवन । जीवन नै द्वन्द्व हो । मैले दुइटा खुट्टा दुइटा डुंगामा राखेको होइन । जहाँ पनि दुई पक्ष हुन्छ, उज्यालो र अध्यारो । एकदम सम्झौताको बाटो हुन्छ कि द्वन्द्वको बाटो हुन्छ । यी दुइटा पक्ष जतासुकै हुन्छन् । दुइटा पक्ष भयो भनेर आत्तिनु पर्ने आवश्यकता छैन । किनभने जब घरमा द्वन्द्व हुन्छ, मान्छेले सोच्छ घरमा बसौँ कि बाहिर ! परिवारमा पनि द्वन्द्व हुन्छ, झगडा हुन्छ । जेमा पनि द्वन्द्व हुन्छ । खाना खाँदै हुनुहुन्छ नमिठो हुन्छ । खाना थपौँ कि नथपौँ यस्तो द्वन्द्वबाट आत्तिने होइन । जीवन नै द्वन्द्व हो । राजनीति जीवन पनि द्वन्द्व हो । यी दुई पाटा हुन्छन् । यी दुई पाटा भनेको दुई डुंगा जस्तो ठान्नु पनि जरुरी छैन । किनभने यस्ता पक्ष आइरहन्छन् गइरहन्छन् । कहिले बिछोड हुन्छ । कहिले एकता हुन्छ । एकता र बिछोड पनि सँगसँगै चलिरहेको हुन्छन् । अहिले हाम्रो पार्टीभित्र गम्भीर अवस्था विद्यमान छ । त्यो विद्यमान भएको गम्भीर र चुनौतीपूर्ण अवस्थाले गर्दाखेरी हामी एउटा व्यापक परामर्श र छलफलमा छौँ ।

Madhav nepal 2 .jpg

हाम्रो चाहना हो इच्छा हो पार्टीलाई एकताबद्ध बनाएर जाउँ । तर, केही पक्ष छन् उनीहरु त्यसरी जान नखोजेको हो कि भन्ने शंका उत्पन्न भएको छ । तर, कसैको डरबाट, धम्कीबाट, आरोपबाट या अरु घुर्कीबाट म नडराउने खालको मान्छे हुँ । त्यसको सामना गरिन्छ ।  समग्र पक्षको विश्लेषण गरिन्छ । नयाँ यात्रा प्रारम्भ गर्ने हो भने पनि त्यसका लागि तयार हुनुपर्छ । जारी यात्रालाई अगाडि बढाउने हो भने पनि त्यसका निम्ति तयार हुनुपर्छ । सबै खालका चुनौतीलाई आँखा अगाडि छर्लङ्ग देखेर, कुन बाटो रोज्ने हो भन्ने कुराहरु हामीले तय गर्नुपर्छ ।

अब नयाँ घर बन्छ कि एमाले नामक घरको मर्मत हुन्छ ?

त्यो त परिस्थितिमा भर पर्छ । पात्रहरुमाथि भर पर्छ । प्रमुख पात्रको भूमिकामाथि भरपर्छ । प्रमुख पात्र इमान्दार भइदिए भने एकता हुन्छ । प्रमुख पात्र इमान्दार नहुने हो भने भन्न सकिँदैन । कसैले संगठनलाई आफ्नो पेवा ठान्ने हो त्यो सम्भव छैन । स्वभाविक रुपमा रुपमा शिर निहुराएर जाने माधव नेपालको बानी छैन । गोडामुनी छिर्ने माधव नेपालको बानी छैन । अँध्यारो सुरुङमा छिर्ने माधव नेपालको बानी छैन । सिधा प्रष्ट सहमतिकासाथ सम्मानजनक ढंगले सिंगो पार्टी पंक्तिसँग जोडिएकाहरुको भविष्य सुनिश्चित गर्ने ढंगले नेपालको राजनीतिलाई सही ढंगले अगाडि बढाउने गरी हामी पनि अघि बढ्नुपर्छ । हामीले बोकेको मान्यता भनेको संविधानको रक्षा गर्ने, नेपाल राष्ट्रको गरिमालाई माथि उठाउने, संघीयता, गणतन्त्र, समावेशीताको रक्षा गर्ने र प्रतिनिधिसभाको रक्षा गर्ने हो ।

त्यसका निम्ति सर्वोच्च अदालतले ऐतिहासिक फैसला गरेर प्रतिनिधिसभाको आयु जोगाएको बचाएको मात्र होइन । त्यहाँ अदालतले संविधानको सही व्याख्या गरेर जुन बाटो देखाएको छ । त्यही बाटोमा अगाडि बढ्ने हाम्रो कोसिस हुनेछ । अहिलेका सबै राजनीतिक पार्टीले कस्तो भूमिका निर्वाह गर्नेछन् । त्यसमाथि भरपर्छ र राम्रो भूमिकाको प्रशंसा गर्दै अगाडि बढ्नेछौँ भने नराम्रो  भूमिकाको विरोध र आलोचना गरी त्यसलाई निरुत्साहित गर्ने ढंगबाट हामी अघि बढ्नेछौँ ।

तपाईँ अब कहिलेसम्म दोबाटोको यात्री बन्नुहुन्छ नि ?

समयलाई पर्खिर्नुपर्छ । किनभने चाहेर पनि हुँदो रहेनछ । तपाईँ कुर्दै हुनुहुन्छ । घाम लाग्ला, घाम लाग्ला, छठको बिहानीको घाम जस्तै । त्यो त कुर्नु पर्यो । समयमा पो घाम लाग्छ, सूर्य उदाउँछ । समयभन्दा पहिले नै जतिसुकै उखरमाउलो हतार गरे पनि केही पार लाग्दैन । त्यसका निम्ति धैर्यता चाहिन्छ । समय आउँछ अनि आँप पाक्छ । आँप पाँकेपछि खाने हो । काँचो आप खान खोज्नुभयो भने त्यसले परिणाम राम्रो दिँदैन ।

Madhav nepal.jpg

एकताको सम्भावना भए तपाईंको बटमलाइन के हो ? बुँदामा भनिदिनुहोस् न ।

सिधा कुरा छ । राजनीतिमा ‘क्लियारिटी’ चाहिन्छ । चालिएका सबै कदमका बारेमा धारणा चाहियो ।  द्वन्द्वका कारणको पहिचान चाहियो । एक–एक सवालको समाधान चाहियो । हामीले सुरुदेखि नै भनेका छौँ, यो पार्टी जुन हिसाबले अगाडि बढेको छ, सर्वोच्चले जुन हिसाबले फैसला गरेको छ त्यो फैसलाको मर्म र भावनालाई आत्मसाथ गरेर सम्मानजनक ढंगले एकतावद्ध गरेर एउटा साझा ठाउँमा पुग्ने हो । कसैको साथमा गएर मिल्ने होइन । एकतावद्ध हुने हो किनभने यो साझा हो । हामी नेपाल कम्युनिस्ट पार्टी (एमाले)को साझा घर बनाउन चाहन्छौँ । कम्युनिस्ट आन्दोलन त अगाडि बढ्छ, बढ्छ । आन्दोलनको यात्रा अगाडि बढाउन मलाई कसैले पनि रोक्न सक्दैन ।

यत्तिबेला एमाले एकता पनि सम्भव देखिँदैन । सरकारमा सहभागी बन्न सक्नु भएको पनि छैन । तपाईंको मनस्थिति चाहिँ के हो ?

घटनाक्रमलाई गहिरो गरी अवलोकन गर्ने । आग्रह कुनै पनि नराख्ने । पूर्वाग्रहबाट प्रेरित नहुने तर चुनौतीको सामना गर्ने ।

प्रचण्ड र शेरबहादुर देउवासँगको प्रेम ?

सबैसँग मेरो प्रेम सद्भाव रहिरहन्छ । गिरिजाबाबुसँग पनि प्रेम थियो । गणेशमान सिंहसँग पनि प्रेम थियो । कृष्णप्रसाद भट्टराईसँग प्रेम पनि थियो । सबैसँग प्रेममात्र होइन, विरोध पनि थियो । तपाईंलाई थाहा छँदै छ ।

घरभित्र चोर पस्यो भने पहिला चोरलाई निकाल्ने भन्दा अरुसँग मिलेर घरमा ढुंगा हानेको आरोप तपाईँमाथि लागेको छ नि ?

घरका मान्छे नै डाँका भइदिए भन्ने प्रश्न उठ्यो भने के जवाफ दिनुहुन्छ ? गाउँले भेला गरेर समात्न परेन ? तपाईँले चोर शब्द प्रयोग गर्नुभयो । मैले त्यो शब्द प्रयोग गरिनँ । घरलाई ठिक गर्नका लागि घरको मति ठिक गर्नका निम्ति हामीले जे कदम चालेका छौँ त्यो देशको रक्षाका लागि, संविधानको रक्षाका लागि राज्यको स्थायित्वको लागि सँगैसँगै मुलुकमा थिति बसाल्नका निमित अगाडि बढ्ने काम हामीले गरेका छौँ । यो बढो महत्वपूर्ण, ऐतिहासिक र गौरवशाली काम गरिएको छ । 

सरकारमा सहभागी हुने कुरालाई नकार्नुहुन्छ ?
 
हामीले निर्णय गरेका छैनौँ । पार्टीभित्र टुंगो लगाएपछि सरकारमा सहभागी हुने कुरा भन्न सक्छौँ । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend