काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य पदका उम्मेदवार आशिष गजुरेलले पूर्वाधार विकास, यातायात सुधार र मानवमैत्री सहर निर्माणलाई आफ्नो मुख्य एजेन्डा बनाएर उम्मेदवारी घोषणा गरेका छन्।
केन्द्रीय सदस्य (खुला) पदका आकांक्षी गजुरेलले पार्टीभित्र नीति बहसलाई सशक्त बनाउन तथा दीर्घकालीन विकासका मुद्दालाई प्राथमिकतामा राख्न आफूले उम्मेदवारी दिएको बताएका छन्।
उनले व्यवस्थित पूर्वाधार निर्माण, यातायात प्रणाली सुधार, सुरक्षित यातायात व्यवस्थाको विकास, पैदलयात्री, साइकलयात्री, सार्वजनिक यातायात प्रयोगकर्ता तथा अपाङ्गता भएका व्यक्तिका लागि सहज आवागमन सुनिश्चित गर्ने विषयलाई आफ्नो प्राथमिक एजेन्डा बनाएका छन्।
यस्तै, मानवमैत्री सहर निर्माणलाई पनि आफूले विशेष महत्व दिएको उल्लेख गर्दै गजुरेलले विकासलाई केवल सडक र भवन निर्माणमा सीमित नराखी नागरिकको जीवनस्तर सुधारसँग जोड्नुपर्ने धारणा राखेका छन्।
‘मेरो उम्मेदवारी केन्द्रीय सदस्य खुलामा किन भन्ने प्रश्नको उत्तर यी एजेन्डामै छ,’ गजुरेलले भने, ‘पूर्वाधार, सुरक्षित यातायात र मानवमैत्री सहर निर्माणका विषयलाई पार्टीको नीतिगत प्राथमिकतामा स्थापित गर्न मैले उम्मेदवारी दिएको हुँ।’

प्रतिक्रिया दिनुहोस