काठमाडौँ । ग्यालेक्सी फोरके टेलिभिजनको कार्यालयमा एउटा नाम सुनिन्थ्यो– विपिन आचार्य। उनी आफ्नै शैली, छुट्टै आत्मविश्वास र सिर्जनशीलताका पर्याय थिए। तर, त्यतिबेला धेरैलाई थाहा थिएन कि पर्दापछाडि बसेर 'क्रियटिभ' काम गर्ने यी तन्नेरीले भोलि देशको वैकल्पिक राजनीतिक शक्तिको 'मस्तिष्क' बनेर काम गर्नेछन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को हालै सम्पन्न प्रथम महाधिवेशनले विपिन आचार्यलाई पार्टीको शक्तिशाली 'महामन्त्री' पदमा निर्वाचित गरेको छ। यसअघि सहमहामन्त्रीको जिम्मेवारीमा रहेका उनी आफ्नो कार्यक्षमता र वैचारिक स्पष्टताका कारण स्वाभाविक रूपमा महामन्त्रीका हकदार बनेका छन्।
विपिनको जन्म २०४६ सालमा दाङको तुलसीपुर उपमहानगरपालिका–१२, टरिगाउँमा भएको हो। उनको प्रारम्भिक शिक्षा दाङकै अन्नपूर्ण स्कुल र दीपशिखा बोर्डिङ स्कुलबाट भयो। पढाइमा अब्बल विपिनले २०६१ सालमा एसएलसी उत्तीर्ण गरेपछि उच्च शिक्षाका लागि भारतको पुणे पुगेर 'बायोटेक इन्जिनियरिङ' पूरा गरे।
प्राविधिक शिक्षामा मात्र उनी सीमित रहेनन्। उनले काठमाडौँ विश्वविद्यालयबाट व्यवस्थापन संकायमा स्नातकोत्तर (एमबीए) समेत गरे। प्राविधिक ज्ञान र व्यवस्थापकीय कौशलको यही संगम नै आज उनको राजनीतिक जीवनको सफलताको आधार बनेको देखिन्छ।
उनै विपिन र रास्वपा सभापति रवि लामिछानेबीचको सम्बन्ध गोरखा मिडिया प्रालि (ग्यालेक्सी फोरके) बाट प्रगाढ बनेको हो। रवि निर्देशक रहँदा विपिन त्यहाँ 'क्रियटिभ डाइरेक्टर' का रूपमा कार्यरत थिए। टेलिभिजनका कार्यक्रमहरूलाई कसरी नयाँपन दिने भन्नेमा उनको विशेष दखल थियो।
जब २०७९ जेठ ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी स्थापना गर्ने निर्णय भयो, त्यसको नेपथ्यमा विपिनको ठुलो भूमिका थियो। पार्टीको नाम 'राष्ट्रिय स्वतन्त्र पार्टी' राख्ने, चुनाव चिह्न 'घण्टी' छनोट गर्ने र पार्टीको पहिचान झल्काउने 'नीलो रङ' तय गर्ने जिम्मा उनैलाई दिइएको थियो। उनले केवल चिह्न मात्र रोजेनन्, पार्टीको पहिलो बाचापत्र लेखे, विधानको 'प्राइमरी फ्रेमवर्क' तयार पारे र प्रविधिमैत्री पार्टी बनाउन मोबाइल एप निर्माणमा समेत नेतृत्वदायी भूमिका खेले।
विपिनको राजनीतिक उचाइ तब चुलियो, जब उनले २०७९ को आम निर्वाचनमा दाङबाट एमालेका हेभीवेट नेता एवं महासचिव शंकर पोखरेललाई पराजित गरे। एउटा सामान्य राजनीतिक पृष्ठभूमिबाट आएको युवाले स्थापित दलको प्रभावशाली नेतालाई हराउनु नेपाली राजनीतिको ठुलो 'सरप्राइज' थियो। यही जितले उनलाई राष्ट्रिय राजनीतिमा 'जायन्ट किलर' को पहिचान दिलायो।
शान्त स्वभाव, वैचारिक स्पष्टता
विपिनलाई नजिकबाट चिन्नेहरू उनलाई 'ज्ञानको भण्डार' मान्छन्। उनी भिडमा हराउने मान्छे होइनन्, बरु भिडभन्दा अलग बसेर शान्त भावले योजना बुन्न रुचाउँछन्। शालिन व्यक्तित्वका धनी विपिन कुशल प्रशिक्षक पनि हुन्। उनी पार्टीका कार्यकर्तालाई राजनीतिक संस्कार र एजेन्डाबारे प्रशिक्षित गर्न खप्पिस छन्।
पहिले एमाले निकट पारिवारिक पृष्ठभूमिमा हुर्किएका विपिनका बुवा शिक्षक थिए। तर, विपिनले आफ्नै बाटो रोजे र आज उनी नयाँ पुस्ताको आशाको केन्द्र बनेका छन्।
रास्वपामा दुई महामन्त्रीको व्यवस्था छ, जसमा एक जना निर्वाचित र अर्को मनोनित हुने प्रावधान छ। निर्वाचित महामन्त्रीका रूपमा विपिनले अब पार्टीको संगठन निर्माण, वैचारिक धारलाई स्पष्ट पार्ने र आगामी निर्वाचनमा पार्टीलाई थप सुदृढ बनाउने गुरुत्तर जिम्मेवारी पाएका छन्।
प्रशिक्षण विभागको प्रमुख भएर काम गरिसकेका उनले अब सत्तासीन रास्वपाको आन्तरिक लोकतन्त्र र व्यवस्थापनलाई कसरी अगाडि बढाउँछन् भन्नेमा धेरैको चासो छ। 'क्रियटिभ डाइरेक्टर' बाट 'पार्टी महामन्त्री' सम्मको उनको यो यात्रा नेपाली राजनीतिमा फरक सोच र नयाँ शैलीको उदयको रूपमा हेरिएको छ।
प्रतिक्रिया दिनुहोस