काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दै छ । नयाँ विधेयक, विभिन्न संवैधानिक आयोगका वार्षिक प्रतिवेदन तथा अन्तर्राष्ट्रिय महासन्धिसम्बन्धी महत्त्वपूर्ण विषयमाथि छलफल गर्ने कार्यसूचीसहित आजको संसद् बैठक आह्वान गरिएको हो ।
आजको बैठकमा सरकारका तर्फबाट विभिन्न मन्त्रीहरूले महत्त्वपूर्ण प्रतिवेदन र विधेयकहरू सदनमा पेस गर्दै छन् । प्रधानमन्त्रीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले राष्ट्रिय मानव अधिकार आयोगको अठारौँ वार्षिक प्रतिवेदन, राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन तथा राष्ट्रिय समावेशी आयोगको सातौँ वार्षिक प्रतिवेदन सदनमा पेस गर्ने तयारी छ ।
यसैगरी बैठकको व्यवस्थापन कार्यअन्तर्गत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ सम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यस्तै, युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम सङ्गठनसँग सम्बन्धित दुई विषय सदनमा पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस