काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्वप्रवक्ता तथा पार्टीको महाधिवेशनमा महामन्त्री पदका प्रतिस्पर्धी मनिष झाले सञ्चारगृह तथा अन्य स्थानमा गाडी राखेर अवरोध गरिएको घटनाप्रति कडा आपत्ति जनाएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै झाले यस्ता गतिविधिमा संलग्न व्यक्तिमाथि अनुसन्धान गरी कारबाही गर्नुपर्ने बताएका हुन्।
‘सञ्चारगृह र अन्य स्थानमा गाडी राखेर अवरोध गर्ने काम गलत हो। यसमा जो संलग्न छ, अनुसन्धान र कारबाही हुनुपर्छ,’ झाले भनेका छन्, ‘राज्यले नागरिकको चिन्ता निराकरण गर्ने हो। राज्यले आफैं थप आतङ्कित बनाउने होइन।’
उनले राज्य सञ्चालनमा अपरिपक्व र गैरजिम्मेवार गतिविधि स्वीकार्य नहुने भन्दै प्रश्नसमेत उठाएका छन्। ‘यस्तो बचपना देखाएर राजकाज चल्छ? के यस्तै स्तरहीन र गलत प्रयोग गर्न जेनजी सहादत भएको हो?’ झाले प्रश्न गरेका छन्।
झाले यस किसिमका गतिविधिप्रति घोर आपत्ति रहेको उल्लेख गर्दै घटनाको निष्पक्ष अनुसन्धान र दोषीमाथि कारबाहीको माग गरेका छन्।
पछिल्लो समय सञ्चारगृह तथा राजनीतिक दलका नेताका निवासअगाडि बेवारिस अवस्थामा गाडी राखिएको विषय विवादित बनेको छ। यही विषयमा रास्वपाका पूर्वप्रवक्ता झाले सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त गरेका हुन्।
प्रतिक्रिया दिनुहोस