२०८३, श्रावण १ गते

शुक्रवार, श्रावण १ गते २०८३

सुदूरपश्चिमपछि कर्णालीमा पनि सत्ता समीकरण फेरिने संकेत : मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्ताव

बिहिवार , आषाढ ३२, २०८३

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा सत्ता समीकरण परिवर्तनको प्रक्रिया सुरु भएसँगै त्यसको प्रभाव अब कर्णाली प्रदेशमा पनि देखिन थालेको छ। नयाँ राजनीतिक गठबन्धन निर्माण गर्ने सहमतिअनुसार कर्णाली प्रदेश सरकार परिवर्तनको औपचारिक प्रक्रिया अघि बढाइएको छ।

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध कांग्रेस र नेकपाका प्रदेशसभा सदस्यहरूले संयुक्त रूपमा अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । नेकपाका ११ र कांग्रेसका ५ गरी १६ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेश सभा सचिवालयमा प्रस्ताव दर्ता गरिएको हो ।

अविश्वास प्रस्तावसँगै कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई नयाँ मुख्यमन्त्रीका रूपमा प्रस्ताव गरिएको छ। नेकपाका प्रमुख सचेतक कृष्णबहादुर जीसीले प्रदेशमा नयाँ सत्ता गठबन्धन निर्माण गर्ने सहमतिअनुसार सरकार परिवर्तनको प्रक्रिया सुरु गरिएको बताए ।

बुधबार मात्रै एमाले नेतृत्वको कर्णाली सरकारबाट कांग्रेसका मन्त्रीहरूले पद त्याग गरेपछि सरकार परिवर्तनको तयारी औपचारिक चरणमा पुगेको हो। यसअघि सुदूरपश्चिम प्रदेशमा देखिएको सत्ता समीकरणको फेरबदल अब कर्णालीमा पनि विस्तार भएको राजनीतिक वृत्तमा विश्लेषण गरिएको छ।

प्रदेश सभामा कांग्रेसका १४ सांसद रहे पनि अविश्वास प्रस्ताव दर्ताका लागि आवश्यक न्यूनतम संख्या मात्र प्रयोग गरिएको छ। प्रदेश सभा नियमावलीअनुसार कुल सदस्य संख्याको कम्तीमा २५ प्रतिशत सदस्यको समर्थनमा अविश्वास प्रस्ताव दर्ता गर्न सकिने व्यवस्था छ।

दर्ता गरिएको प्रस्तावमा संविधानको धारा १८८ बमोजिम मुख्यमन्त्री यामलाल कँडेलमाथि प्रदेश सभाको विश्वास नरहेको उल्लेख गर्दै जीवनबहादुर शाहीलाई नयाँ मुख्यमन्त्री नियुक्त गर्न प्रस्ताव गरिएको छ। अब उक्त प्रस्ताव प्रदेश सभा बैठकको कार्यसूचीमा समावेश भएपछि त्यसमाथि छलफल र निर्णयको प्रक्रिया अघि बढ्नेछ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट