काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी मुद्दा विशेष अदालतमा दर्ता गरेको छ। २४ दिन लामो अनुसन्धानपछि विभागको प्रतिवेदनका आधारमा विशेष सरकारी वकिल कार्यालय काठमाडौंले बिहीबार पौडेलसहित १६ जना व्यक्ति र १० कम्पनीलाई प्रतिवादी बनाएर अभियोग दर्ता गरेको हो।
अभियोगपत्रमा पौडेलविरुद्ध २० करोड ९० लाख रुपैयाँ बिगो दाबी गरिएको छ। साथै एभरेष्ट बैंकमा रहेको ६ लाख ३४ हजार ५४५ रुपैयाँ जफत गर्नसमेत अदालतसँग माग गरिएको विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन्।

विशेष अदालत स्रोतका अनुसार, मुद्दामा समावेश गरिएका १० कम्पनीलाई सम्पत्ति जफतको प्रयोजनका लागि प्रतिवादी बनाइएको हो।
पौडेललाई असार ८ गते पार्टी कार्यक्रमका क्रममा सुर्खेतबाट पक्राउ गरिएको थियो। भोलिपल्ट काठमाडौं ल्याइएपछि विशेष अदालतले पहिलो पटक सात दिनको म्याद थप गरेको थियो। त्यसयता अदालतले पाँच पटकसम्म म्याद थप गर्दै अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको थियो।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तीन दिनअघि अनुसन्धान प्रतिवेदन विशेष सरकारी वकिल कार्यालयमा बुझाएको थियो। त्यसपछि अभियोजन प्रक्रिया पूरा गर्दै विशेष अदालतमा मुद्दा दर्ता गरिएको हो।
अनुसन्धानमा पौडेलमाथि यसअघि पक्राउ परेका बिचौलिया दीपक भट्टसँग जोडिएको शंकास्पद शेयर कारोबार तथा अकुत सम्पत्ति आर्जनसँग सम्बन्धित विषयमा अनुसन्धान गरिएको स्रोतको भनाइ छ।
सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ अनुसार यस कसुरमा अनुसन्धानका लागि एकैपटक वा पटक–पटक गरी अधिकतम ९० दिनसम्म हिरासतमा राख्न सकिने व्यवस्था छ भने एकपटकमा बढीमा ३० दिनसम्म मात्र म्याद थप गर्न सकिने कानुनी प्रावधान रहेको छ।
प्रतिक्रिया दिनुहोस