काठमाडौं । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) को ट्रफी सार्वजनिक भएको छ । आयोजक ईपीएल प्रालिले सोमबार एक कार्यक्रमबीच विजेताले पाउने ट्रफी सार्वजनिक गरेको हो ।
ईपीएल ट्रफी आईसीसी विश्वकप क्रिकेट ट्रफी बनाउने कम्पनीले बनाएको ईपीएल प्रबन्ध निर्देशक आमिर अख्तरले बताए । उक्त ट्रफीको हंशराज हुलासचन्द एण्ड कम्पनीका अध्यक्ष शेखर गोल्छा र निर्देशक अख्तरले सार्वजनिक गरेका थिए ।
ईपीएल आगामी असोज ९ देखि २३ गतेसम्म त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ । आईसीसीबाट मान्यता प्राप्त ईपीएलमा विश्वका चर्चित खेलाडीले समेत खेल्नेछन् । ६ शहरका फ्रेन्चाइज टोलीको सहभागिता रहने आईपीएलमा साविक विजेता ललितपुर प्याट्रीयटर्स, काठमाडौं किंग्स ११, विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, चितवन टाइगर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्नेछन् ।
ईपीएललाई यसपटक बजाज पल्सरले मुख्य प्रायोजन गरेको छ । बजाजले एक बर्षको प्रायोजन बापत दुई करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने बताइएको छ । यो नेपाली खेलकुदमा निजी क्षेत्रबाट गरिएको सबैभन्दा ठूलो प्रायोजन रकम हो ।
यसअघि कतार एयरलाइनसले नेपालको ‘ए’ डिभिजन लिगका लागि एक लाख ५० हजार अमेरिकी डलर (करिब १ करोड ७५ लाख रुपैयाँ) प्रायोजन गरेको थियो ।