एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाको कप्तानको जिम्मा सर्जियो बुस्केटले पाएका छन् । सुपरस्टार लियोनल मेस्सीको बर्हिगमनपछि बार्सिलोनाले ३३ वर्षीय बुस्केटलाई कप्तानको जिम्मेवारी सुम्पिएकाे छ ।
नयाँ कप्तानको रुपमा बुस्केटलाई बार्सिलोनाको गरिमा थेग्ने चुनौती थपिएको छ । बार्सिलोनाले सोमबार राति सन् २०२१/२२ को सिजनका लागि टोलीको कप्तान बनाएको उल्लेख गरेको छ । टोलीमा मेस्सी कप्तान छँदा उनी उपकप्तान थिए ।
२१ वर्ष बाार्सिलोनामा बिताएका मेस्सी सन् २०१८ देखि बार्सिलोनाको कप्तान थिए । आन्द्रे इनिस्टाले कप्तान छाडेपछि बार्सिलोना व्यवस्थापनले मेस्सीलाई कप्तान बनाएको थियो । मेस्सीले कप्तान छँदै बार्सिलोना छाडेका हुन् । मेस्सीको कप्तानीमा बार्सिलोनाले एक ला लिगा र एक कोपा डेल रे जितेको थियो ।
बुस्केटको कप्तानीमा अब बार्सिलोनाले आगामी सातादेखि सुरु हुने ला लिगनमा रियल सोसिडाडसँग खेल्दै सिजनको सुरुआत गर्नेछ । सन् २००५ मा जुनियर टोलीदेखि बार्सिलोनामा अनुबन्ध भएका बुस्केट सन् २००८ देखि लगातार सिनियर टोलीमा छन् ।
मिहीनेती मिडफिल्डरको छवि बनाएका बुस्केटले बार्सिलोनाका लागि चार सय १५ खेल खेल्दै ९ गोल गरेका छन् । उनी सन् २००८ मै स्पेनको राष्ट्रिय टोलीका परेका थिए । बुस्केटले स्पेनको कप्तानी समेत गरेका छन् । देशका लागि उनले एक सय २७ खेल खेल्दै दुई गोल समेत गरेका छन् ।