काठमाडौं । स्वर्गीय राजेशहरी जोशी स्मृति खुला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता भदौ २२ देखि २६ गतसम्म ललितपुरमा हुने भएको छ ।
ललितपुर स्पोर्ट्स क्लबले नेपाल बुद्धिचाल संघका पूर्व अध्यक्ष एवं विश्व बुद्धिचाल महासंघ (फिडे) इथिक्स कमिशनका सदस्य स्वर्गीय जोशीको स्मृतिमा प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगितामा एक सय जना खेलाडीको सहभागिता रहने बताइएको छ ।
कूल तीन लाख ५० हजार रुपैयाँ पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले ५० हजार, उपविजेताले ३० हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
महिलातर्फको विजेतालाई १० हजार, उपविजेतालाई आठ हजार र तेस्रो हुने खेलाडीलाई ६ हजार रुपैयाँ प्रदान गरिने छ । उपत्यका बाहिरका जिल्लाबाट आउने खेलाडीलाई आवास र भत्ताको ब्यवस्था गरिएको आयोजकले जनाएको छ ।