एजेन्सी । बार्सिलोना । बार्सिलोनाले स्पेनिस ला लिगामा विजयी सुरुवात गरेको छ । घरेलु मैदान क्याम्प नोउमा आइतबार राति भएको खेलमा बार्सिलोनाले रियल सोसीडाडलाई ४–२ गोलले हरायो ।
भर्खर टोलीको प्रभावशाली कप्तान लियोनल मेस्सीले बार्सिलोना छाडेपछि टिमको प्रदर्शनको विषयमा खुबै चर्चा चलेको थियो । मेस्सीबिना बार्सिलोनाको खेल कस्तो होला भन्ने हुटहुटी थियो । सबै कौतुहलतालाई चिर्दै बार्सिलोनाले सिजनको पहिलो खेलमै सानदार नतिजा निकालेको छ । पहिलो र दोस्रो हाफमा समान दुई दुई गोल गरेको बार्सिलोनाका लागि जेराल्ड पिके, मार्टिन ब्रेथवेट र सर्जी रोवर्टोले गोल गरे । सोसीडाडको लागि लोबेटे र मिकेल ओयारजाबलले गोल गरेका थिए ।
बार्सिलोनाले १९ औं मिनेटमा पिकेको गोलबाट खाता खोलेको थियो । पिकेले डिपाएको फ्रिकिक पासमा गोल गरेका थिए । त्यसपछि पहिलो हाफको इन्जुरी समयमा ब्रेथवेटले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए । उनले फ्रेन्की डे जोङको पासमा गोल गरेका थिए । ५९ औं मिनेटमा ब्रेथवेटले व्यक्तिगत दोस्रो गोल थपे । उनले सोसीडाडका रक्षकका गल्तीको फाइदा उठाएका थिए ।
८२ औं मिनेटमा लोबेटेले गोल गर्दै सोसीडाडलाई खेलमा फर्काउने प्रयास गरे । ८५औं मिनेटमा मिकेल ओयारजाबलले गोल गर्दै सोसिडाडको उत्साह बढाए । तर दोस्रो हाफको इन्जुरी समयमा सर्जी रोबर्टोले गोल गर्दै बार्सिलोनालाई सजिलै जिताए । सर्जीले मार्टिन ब्रेथवेटको पासमा गोल गरेका थिए । यसै खेलबाट बार्सिलोनाका लागि स्ट्राईकर मेम्फिस डिपाए र डिफेन्डर एरिक गार्सियाले डेब्यु गरेका छन् । सिजनको पहिलो जितसँगै बार्सिलोनाले तीन अंक बनाएको छ । सोसिडाडले हारबाट सिजनका सुरुवात गरेको छ ।
अर्को खेलमा साविक विजेता एट्लेटिको म्याड्रिडले सेल्टा भिगोलाई उसैको मैदानमा २–१ गोलले हरायो । एट्लेटिकोको जितमा दुवै गोल एन्जल कोरेराले गरे । कोरेराले २३औं र ६४औं मिनेटमा गोल गरेका थिए । सेल्टाका लागि लागो आसपासले ५९औं मिनेटमा पेनाल्टीमार्फत गरेको गोल सान्त्वना गोलका परिणत भएको थियो । प्रतिस्पर्धात्मक खेलको अन्तिममा दुवै टोली १० खेलाडीमा समेटिएका थिए । सिजनको सुखद सुरुवात सँगै एट्लेटिकोले तीन अंक बनाएको छ । सेल्टाले हारबाट सुरुवात गरेको छ ।
अर्को खेलमा सेभियाले १० खेलाडीमा सिमित रायो भालेकानोलाई ३–० गोलले हरायो । घरेलु मैदानमा सेभियालाई जिताउन युसुफ इन नासेरीले १९औं मिनेटमा खाता खोले । इरिक लामेलाले ५५औं र ७७औं मिनेटमा दुई गोल गर्दै टोलीलाई सजिलै जिताए । रायो भालेकानो १६औं मिनेटमै १० खेलाडीमा समेटिएको थियो । लुका जिताने सोझै रातो कार्ड पाउँदै बाहिरिएपछि सेभियाले त्यसको भरपुर फाइदा उठायो । जितसँगै सेभियाले तन अंक बटुलेको छ । रायो भालेकानोले हारबाट सिजनको सुरुवात गरेको छ ।