काठमाडौं । साफ च्याम्पियनसिप फुटबलमा नेपालले आफ्नो पहिलो खेल माल्दिभ्ससँग खेल्ने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले बुधबार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालको पहिलो खेल घरेलु टोली माल्दिभ्ससँग परेको हो ।
१३औं संस्करणको साफ च्याम्पियनसिप अअक्टोबर १ देखि १३ तारिखसम्म माल्दिभ्सको राजधानी मालेका हुनेछ । तालिका अनुसार नेपालले अक्टोबर ३ मा श्रीलंका, अक्टोबर ८ मा भारत र अक्टोबर १३ मा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।
लिगकम नकआउटका आधारमा खेलाईने पाँच टोली सम्मिलित च्याक्पियनसिपको शीर्ष दुई टोली फाइनलमा भिड्नेछन् । फाइनल खेल १३ तारिख हुनेछ । साफमा लागि नेपाली राष्ट्रिय फुटबल टोलीले तयारी गरिरहेको छ । अहिले नेपाली टोली पोखरामा प्रशिक्षणमा ब्यस्त छ ।
यसअघि दशरथ रंगशालामा हुने भनिएको साफ नेपालमा कोरोनाको संक्रमण बढेका कारण माल्दिभ्समा गरिन लागिएको हो । साफअघि नेपाल र भारतबीच भदौ १७ र २० गते दशरथ रंगशालामा मैत्रीपूर्ण अभ्यास खेल खेल्ने तय भईएको छ ।
गत वर्ष नै बंगलादेशमा आयोजना तय भएको साफ च्याम्पियनसिप कोरोनाका कारण एक वर्षपछि सारिएको थियो । साफमा यस पटक दुई देशले भाग नलिने भएका छन् । विश्व फुटबल महासंघ (फिफा) को प्रतिबन्धमा रहेको पाकिस्तानले भाग लिने छैन । कोरोना संक्रमणले देशबाहिर जान प्रतिबन्ध लगाइएका कारण भुटानले पनि भाग नलिने निर्णय गरेको छ ।