काठमाडौं। अफगानिस्तान तालिवानको नियन्त्रणमा छ। त्यहाँका राष्ट्रपतिदेखि सुरक्षा निकायका प्रमुखसम्मले देश छोडेका छन्। नेपाल सरकारसँग अहिलेसम्म अफगास्तिानमा कति नेपाली समस्यामा परेका छन् भन्नेबारे तथ्यांक छैन। अफगानिस्तानमा १० हजार नेपाली रहेको अनुमान गरिन्छ।
बुधबार साँझसम्म २९६ नेपाली सम्पर्कमा आएका छन् भने २८८ जना नेपाल आइपुगेका छन्। यसरी नेपाल आइपुगेका मध्ये एक हुन् म्याग्दीका कुमार बरुवाल। अफगानिस्तानको राजधानी काबुलबाट काठमाडौं आइपुगेका बरुवालले त्यहाँको अवस्था र आफ्नो अनुभव सुनौलो नेपालसँग साटेका छन्।
अमेरिकी सेनाको साथमा आइपुगेका बरुवाल त्रासकै बीच नेपाल आइपुगेको सुनाउँछन्। काबुलबाट अमेरिकी सेनाकै हेलिकप्टरमा कतार, कुवेत हुँदै काठमाडौं आएका उनले काबुल विमानस्थलमा धेरै त्रास भएको सुनाएका छन्।
‘पैसा भन्दा पनि जीवन बाँचेको छ। उग्रवादीले कतिबेला मार्छ भन्ने टुंगो थिएन’, उनले खुसी साट्दै भने, ‘म बाँचेर आएँ त्यो भन्दा ठूलो खुसी के हुन्छ र ?’
काबुल विमानस्थलमा दुई घण्टासम्म तालिवानीले गरेको फायरबाट जोगिएर नेपाल आइपुगेको उनको भनाइ छ। ‘विमानस्थलमा हामी आइपुगेपछि अमेरिकी सेना र तालिवानीबीच तनाव भयो। फायर भइरहेको आवाज सुनिराखेका थियौँ’, उनले भने, ‘हामी गाडी मुनी लुक्दै सुरक्षित हुँदै विमान चढ्न सफल भयौँ।’
‘तालिवानीसँग कहिल्यै जम्काभेट भएको थिएन। एक दुई गाडीमा फायर गरेको भए हामीलाई तनाव हुन्थ्यो तर, उनीहरुले हामीलाई केही गरेनन्।’ तालिवानीले अफगानिस्तान छोड्न चाहनेलाई सहजिकरण नै गरेको उनको भनाइ छ। तर, त्यहाँ टाउँकोमा कालो पट्टी बाँधेर, गनहरु बोकेका देख्ने बित्तिकै त्रास हुने गरेको उनको भनाइ छ।
तालिवानको कारवाही हुनसक्छ भन्ने खतरा देखिएपछि हतारहतार त्यहाँबाट निस्किएको उनको भनाइ छ। नेपाल फर्किएका मध्ये धेरैले सामान छोडेको उनले बताए। त्यहाँ अहिले पनि थुप्रै नेपाली अलपत्र रहेको भन्दै उनले उनीहरुको उद्धारमा सरकारले सक्रियता देखाउनुपर्ने बताएका छन्। ‘उग्रवादी संगठन हो। तालिवानीमाथि विश्वास गर्ने अवस्था अझै बनेको छैन’, उनले भने, ‘उनीहरुले पहिले गरेका कारबाहीका कारण आजसम्म उनीहरुमाथि विश्वास गर्ने अवस्था छैन।’