काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेको छ ।
क्यानले शनिबार ज्ञानेन्द्र मल्लको कप्तानीमा १७ सदस्यीय टिमको घोषणा गरेको हो । टिममा पहिलो पटक बलर गुलशन झाले स्थान बनाएका छन् । लिग–२ अन्तर्गत नेपालले भदौ २८ देखि असोज ४ गतेसम्म ओमान र अमेरिकासँग त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ । सिरिजका लागि नेपाली टोलीले यसअघिनै प्रशिक्षण सुरु गरेको थियो ।
त्रिकोणात्मक सिरिजअघि नेपालले पपुवा न्युगिनी (पीएनजी) सँग दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिज पनि खेल्ने भएको छ । क्यानका अनुसार नेपालले भदौ २० र २३ गते पीएनजीसँग सिरिज खेल्ने तय भएको हो ।
लिग–२ मा नेपालले यसअघि घरेलु मैदानमा ओमान र अमेरिकासँग चार खेल खेलिसकेको छ । चार खेलबाट चार नै अंक बनाएको नेपाल छैटौं स्थानमा छ । १० खेल खेलेको ओमान १६ अंक सहित शीर्ष स्थानमा छ । १२ खेलबाट १२ नै अंक बनाएको अमेरिका दोस्रो स्थानमा छ ।
यस्तो छ नेपाली टिम :
कप्तान ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, गुलशन झा, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, अविनाश बोहरा, सुशान भारी, शरद भेषावकर, विक्रम सोब, पवन सरार्फ र रोहित कुमार पौडेल ।