काठमाडौं । जिल्ला तेक्वान्दो संघको अध्यक्षमा अशोक खड्का चार वर्षका लागि निर्विरोध निर्वाचित भएक छन् । शनिबार काठमाडौंमा सम्पन्न जिल्ला कार्यसमितिको दोश्रो अधिवेशनले तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक खड्काको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्यसमिति समेत निर्विरोध चयन गरेको छ । अध्यक्षमा खड्का बाहेक कसैले उम्मेदवारी दिएनन् ।
अध्यक्ष बाहेक सबै पदमा आवश्यक भन्दा बढीले उम्मेदवारी दर्ता गराएपनि अन्तिम समयमा सबैले उम्मेदवारी फिर्ता लिने सहमति भएपछि जिल्ला कार्यसमिति निर्विरोध चयन भएको हो । सरोज बाँस्कोटाले उपाध्यक्ष, गणेश तामाङले सचिव र सारदा धिमालले कोषाध्यक्षको जिम्मेवारी पाए । उपाध्यक्षमा कविराज नेगी लामा, सचिवमा टीकादत्त दाहाल र विकेश विडारी तथा कोषाध्यक्षमा विमला लामाले उम्मेदवारी दिएका थिए ।
सदस्यमा गौरव रजक, विशाल सुर्खेती, मुना खवास, प्रदीप आले मगर र कविता श्रेष्ठ चयन भए । सदस्यमा संगीता राईले पनि उम्मेदवारी दर्ता गराएकी थिइन् । खड्का अघिल्लो कार्यसमितिको उपाध्यक्षमा सर्वाधिक मत ल्याएर विजयी भएका थिए । नयाँ खेलकुद ऐन लागू भएपछि अघिल्लो कार्यसमितिका अध्यक्ष प्रमोद पराजुलीले राजिनामा दिएपछि खड्काले १ वर्ष कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्ने अवसर पाएका थिए ।
नयाँ खेलकुद ऐनमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कर्मचारी खेल संघमा बस्न नपाउने प्रावधान अनुसार पराजुलीले अध्यक्षबाट राजिनामा दिएका थिए । नवनिर्वाचित अध्यक्ष खड्काले काठमाडौं जिल्लालाई देशकै नमुना जिल्ला तेक्वान्दोका रुपमा स्थापित गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए । साधारण सभामा १ सय ६५ प्रतिनिधिको उपस्थिति रहेको थियो ।
नवनिर्वाचित पदाधिकारीहरुलाई राखेपका सदस्यद्वय नन्दा बस्याल र रेणुका श्रेष्ठले एक कार्यक्रमबीच प्रमाण पत्र प्रदान गरे । बागमती प्रदेश तेक्वान्दो संघका अध्यक्ष केशव पुरीले पदाधिकारीलाई शपथ ग्रहण गराएका थिए । त्यसअघि साधारण सभाको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष समेत रहेका संघीय सांसद जीवनराम श्रेष्ठले उद्घाटन गरेका थिए ।