काठमाडौँ । विश्व फुटबल महासंघ (फिफा)ले अफगानिस्तानको महिला फुटबल टिमका सदस्यको उद्धार गर्न माग गरेको छ । विश्वका विभिन्न सरकारलाई पत्र लेख्दै फुटबलको प्रशासकीय निकाय फिफाले यस्तो माग गरेको हो ।
अफगानिस्तानमाथि तालिबानी समूहले नियन्त्रण गरेपछि फिफाले यस्तो आग्रह गरेको हो ।
अफगानिस्तान महिला फुटबलरका लागि जोखिमपूर्ण रहेको भन्दै फिफाले उद्धारको अपील गरेको होे । महिला खेलाडीहरुलेसमेत आफ्नो जीवन जोखिममा परेको बताउँदै आएका छन् ।
फिफाको अपीलमा अफगानिस्तानको अवस्था अस्थिर र निकै गम्भीर रहेको भन्दै चिन्ता व्यक्त गरिएको छ ।
तालिवानी समूहले अफगानिस्तानको राजधानी काबुल नियन्त्रणमा लिएपछि अफगानिस्तान छोड्ने लहर चलेको छ । काबुल तालिबानले नियन्त्रणमा लिएपछि त्यहाँका अधिकांश खेलाडीहरु सार्वजनिक हुन चाहेका छैनन् । अफगानिस्तानमा सन् २००७ मा पहिलो पटक महिला फुटबल टिम बनेको थियो । तालिबानी समूहले महिलामाथि थुप्रै बन्देज लगाएकाले फिफाले पहिलो पटक यस्तो अपील गरेको हो ।