एजेन्सी । साविक विजेता म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा नर्विच सिटीविरुद्ध गोलबर्षा गरेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा सिटीले नर्विच सिटीलाई ५–० गोलले हरायो ।
सिजनको सुरुवाती खेलमा सिटीलाई सानदार जित दलाउन ज्याक ग्रेलिस, एमेरिक लापोर्टा, रहिम स्टर्लिङ र रियाद महारेजले गोल गरे । सिटीले अर्को गोल नर्विचबाट आत्मघाती उपहार पाएको थियो । सिटीले सातौं मिनेटमा नर्विचका टिम क्रुलको आत्मघाती गोलबाट अग्रता लिएको थियो । त्यसपछि २२औं मिनेटमा ग्रेलिसले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।
६४औं मिनेटमा एमेरिक लापोर्टले गोल गर्दै सिटीलाई थप बलियो बनाए । ७१औं मिनेटमा रहिम स्टर्लिङ र ८४औं मिनेटमा रियाद महारेजले सिटीलाई सानदार जित दिलाए । सिजनको पहिलो जितसँगै सिटीले तीन अंक बनाएको छ । दोस्रो हार खेपेको नर्विचले खाता खोल्न सकेको छैन । अन्य खेलमा ब्राइटनले वार्टफोडलाई, एस्टर्न भिल्लाले न्युक्यासल युनाइटेडलाई तथा लिभरपुलले बर्नलीलाई समान २–० गोलले हरायो । एभर्टन र लिड्स युनाइटेडले २–२ तथा ब्रेन्टफोर्ड र क्रिस्टल प्यालेसले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।