एजेन्सी । वेस्ट हाम युनाइटेड इङ्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ । घरेलु मैदानमा सोमबार राति भएको खेलमा वेस्ट हामले लेस्टर सिटीलाई ४–१ गोलले हराउँदै शीर्षस्थान कब्जा गरेको हो । वेस्ट हामको यो लगातार दोस्रो जित हो । वेस्ट हामले पहिलो खेलमा न्युक्यासल युनाइटेडलाई ४–२ गोलले हराएको थियो ।
१० खेलाडीमा सिमित पाहुना टोली लेस्टरलाई हराउन वेस्टहामका मिचेल एन्टेनियोले ८०औं र ८४ओं मिनेटमा दुई गोल गरे । यसअघि पाब्लो फोर्नाल्सले २६औं मिनेटमा खाता खोलेका थिए । सेड बेनरहमाले ५६औं मिनेटमा गोल गरे। लेस्टरका युरी टाइलेमान्सले ६९औं मिनेटमा सान्त्वना गोल फर्काएका थिए । लेस्टर ४०औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो ।
लेस्टरका एयोज परेज सिधै रातो कार्ड पाउँदै बाहिरिएपछि वेस्ट हामले त्यसको भरपुर फाइदा उठायो । जितसँगै वेस्ट हामले दुई खेलबाट ६ अंक बनाएको छ । वेस्ट हामले समान ६ नै अंक बनाएको चेल्सी, लिभरपुल, ब्राइटन र टोट्टनहामलाई गोल अन्तरका आधारमा पछि पारेको हो । पराजित लेस्टर सिटी ३ अंक सहित १२औं स्थानमा छ । लेस्टरले पहिलो खेलमा वल्भ्सलाई १–० ले हराएको थियो ।