logo

२०८१ पुष ७ आइतबार

logo
  • आइतबार, ७ पुष २०८१
  • ‘ओली कुनै कोणबाट कम्युनिस्ट होइनन् : एमाले दोस्रो पुस्ता ‘तरमारा’भयो’ (भिडियोसहित)

    ‘ओली कुनै कोणबाट कम्युनिस्ट होइनन् : एमाले दोस्रो पुस्ता ‘तरमारा’भयो’ (भिडियोसहित)

    2.8K
    Shares

    नेपालमा दल विभाजन नौलो विषय होइन। तर, दल विभाजनसम्बन्धी अध्यादेश आएपछि यसमाथि बहस चर्किएको छ। के अब देशको राजनीति फेरि विभाजनतर्फ मोडिएको हो ? दल विभाजनले पार्ने प्रभाव के हुन सक्छ ? के नेपालमा कम्युनिस्ट आदर्श सकिएको हो ? यी र यिनै विषयमा हामीले माओवादी केन्द्रका युवा नेता लेखनाथ न्यौपानेसँग कुराकानी गरेका छौँ। न्यौपानेसँग सुनौले नेपालका सम्पादक दिनेश लुइटेलले गरेको कुराकानीको सम्पादित अंश

    व्यवस्था जतिसुकै फेरिए पनि नेताको प्रवृत्ति किन फेरिएन  ?

    यो गहन विषयवस्तु हो। व्यवस्था कति मात्रामा फेरियो भनेर हामीले हेर्नुपर्छ। दोस्रो त फेरिएको अन्तरवस्तु अनुसार त्यो व्यवस्था ल्याउनका निम्ति लडेको शक्ति र त्यसको व्यवस्थापन गर्न लाग्ने शक्ति आफैँ कति रुपान्तरित भयो भन्ने हुन्छ। सकारात्मक रुपान्तरणको कुरालाई हामीले हुर्नुपर्छ। हाम्रोमा व्यवस्था पनि गिजोलिएर फेरिएको छ। व्यवस्थाभन्दा अगाडिका पात्र र प्रवृत्ति जस्ताको तस्तै पछिल्लो व्यवस्थामा देखिन्छन्। मान्छे, नेतृत्व वा पात्र कति बदलियो भन्ने कुरा महत्वपूर्ण हुन्छ। प्रवृत्ति बदलिए मात्र परिवर्तन हुन्छ। तर, नेपालमा त्यो देखिँदैन। 

    नेताको प्रवृत्ति फेरिनै नसक्नुको कारण चाहिँ के होला ? 

    उदाहरणका निम्ति २०४६ सालमा जनआन्दोलन भयो। पञ्चायती व्यवस्था पराजित भयो। बहुदलीय व्यवस्था स्थापित भयो। एक वाक्यमा भन्दा प्रवृत्ति नफेरिनुमा लोभ सबैभन्दा ठूलो कुरा बनेको छ। लोभ पनि धेरै छन्।  एउटा पदको, अर्को पैसाको र अर्को प्रतिष्ठाको। एउटा उदाहरण पूर्वमन्त्री धुलो उडाउँदै गााउँमा पुग्छन्। उनीहरुले आवश्यकताको कोणबाट भन्दा प्रतिष्ठाको कोणबाट यो कुराको उपयोग गर्छन्। धुलो उडाउँदै गएपछि म ठूलो भएँ भन्ने लाग्छ। अगाडि पछाडि गाडीका लाइन भएपछि सामाजिक प्रतिष्ठा बढेको ठान्छन्। तर, यसले कमजोर बनाएको कुरा उनीहरुले बुझेका हुँदैनन्। 

    राष्ट्रपतिले दल  विभाजनसम्बन्धी अध्यादेश जारी गरेपछि एमाले र जसपा विभाजनको मुखमा पुगेका छन्। यसलाई कसरी हेर्नु भएको छ ? 

    अध्यादेशमार्फत् दललाई विभाजित गरेर आफ्नो स्वार्थ सिद्ध गर्ने कामको जननी केपी ओली हुन्। २०७७ को वैशाखमा जसरी उहाँले अभ्यास गर्न खोज्नुभयो त्यत्तिबेला त्यो सान्दर्भिक पनि थिएन। दुई तिहाई नजिकको पार्टी र प्रधानमन्त्री उहाँ स्वयम् हुनुहुन्थ्यो। तर, उहाँले अध्यादेश जारी गर्नुभयो। यत्तिसम्म कि पार्टीभित्र एक वाक्य पनि सल्लाह गर्नुभएन। यो पनि मुखिया प्रवृत्ति हो। मुखियाले भनेपछि भाइ–भारदारले मान्नुपर्छ भन्ने कोणबाट यो प्रवृत्ति विजारोपण गर्नुभयो। त्यसको विकसित रुप अहिले देखियो। 

    ओलीले गल्ती स्वीकार गर्नुभयो। तर, अहिले फेरि देउवाबाट गल्ती भयो नि !  

    त्यो चाहिँ उहाँले आत्माअनुभूतिसहित गल्ती स्वीकार गर्नु भएको होइन। बाध्यताले कानुनी हिसाबले स्वीकार गर्नुभएको हो। त्यो शृङ्खलालाई हेर्ने हो भने अध्यादेशबाट सरकार चलाउने, अध्यादेशमार्फत् कानुन बनाउने, अध्यादेशमार्फत् प्रक्रिया अगाडि बढाउने भन्ने कुरा लोकतान्त्रिक पद्धति मान्न सकिँदैन। यसमा कुनै दुविधा छैन। शेरबहादुरले गरे पनि अर्को जसले गरे पनि यो आलोचनाको विषय हो। तर, अलिकति सन्दर्भको कुरा गर्नुपर्छ। यो सरकार र संसद्‍लाई यसको आयु अनुरुप टिकाउनका निम्ति सुविधाजनक बहुमतमा छैन। संसद्‍ र सरकार टिकाउने हो भने अध्यादेश एउटा माध्यम हुनसक्छ। तर, ४० लाई २० मा झारेर अध्यादेश आएपछि अब पार्टी फुटको शृङ्खला तीव्र हुन्छ। हाम्रा पार्टी संस्थागत छैनन्। पार्टीहरु जमिनमा टेकेर स्वतन्त्र रुपमा निर्णय गर्न सक्दैनन्। त्यसको परिणाम फुटमा पुग्छ।

    Lekhnath Neupane_02.jpg

    अध्यादेशले कम्युनिस्ट पार्टीलाई कुन अवस्थामा लाग्छ जस्तो लाग्छ ?

    यसको रुप हेर्दा एमालेको फुटलाई बिट मार्न खोजेको जस्तो देखिन्छ। तर, त्यसको सार भित्र पसेर हेर्नुपर्छ। कम्युनिस्ट आन्दोलनमा मात्र होइन। समग्र राजनीतिक पार्टी जो संसदीय व्यवस्थालाई आदर्श मान्छन्। त्यसलाई अन्तिम लक्ष्य मान्छन् भने तिनीहरुले यो विषयवस्तु कार्यान्वयन गर्नुहुँदैन। मैले आजमात्र समाचार हेरेको थिएँ। स्वीडेनका प्रधानमन्त्री जो सत्तारुढ दलका नेतासमेत थिए । संसद्‍मा बहुमत गुमाउने बित्तिकै उनले पार्टीको प्रमुख र प्रधानमन्त्री पदबाट राजीनामा दिए। त्यो चाहिँ संसदीय संस्कृति हो। त्यही संस्कृतिमा मात्र नेपालका संसदीय दल विकसित हुने हो भने धेरै समस्या हल गर्न सकिन्थ्यो। तपाईँले कम्युनिस्टको कुरा गर्नु भएको छ। कम्युनिस्ट संसारभर दुईवटा हाँगामा छन्। एउटा प्रारम्भमा क्रान्तिकारी हुँदै आएर संसदीय व्यवस्थामा थिग्रिने र अर्को चाहिँ अलिकति क्रान्तिकारी बाटो अंगाल्नका निम्ति बल गर्ने। संसदीय व्यवस्थालाई नै आदर्श मान्ने कम्युनिस्ट छन्। त्यो मध्येको एउटा एमाले हो। एमाले संसदीय संस्कृतिमा छिर्न नसकेको देखिन्छ। कांग्रेस पनि त्यसको दाजुभाइ हो।

    नेकपा एकतालाई नकारात्मक यथार्थ भन्नुपर्छ। दुई पार्टी (माओवादी केन्द्र र एमाले) चुनावी तालमेल हुँदै पार्टी एकता गरेर यत्ति लोकप्रिय जनमत प्राप्त गर्दा पनि आफूलाई जोगाउन सकेनन्। आफू विभाजित भए। एक टुक्रामा मात्र होइन कयौं टुक्रामा विभाजित हुने अवस्था देखियो। अब यिनीहरुले पनि संसदीय प्रक्रियाबाट सत्ता सञ्चालन गर्न नसक्ने तथ्य सार्वजनिक भयो। 

    कुरा एमाले विभाजनकै गरौँ। ओली प्रवृत्तिविरुद्ध हिजो माधव नेपाललाई साथ दिएका भीम रावल, योगेश भट्टराई, घनश्याम भुसाललगायत दोस्रो पुस्ताको प्रवृत्तिलाई के भन्नुहुन्छ ? 

    म धेरै टिप्पणी गर्दिन। यो एमाले भित्रको विचार शून्यताको स्कुलिङ हो। आदर्श, सिद्धान्त र गन्तव्य शून्यताको स्कुलिङ हो। एमालेमा यस्तो डरलाग्दो स्कुलिङ देखियो कि चुनावदेखि चुनावसम्म, सत्तादेखि सत्तासम्म, संसद्‍देखि मन्त्रीसम्मको स्कुलिङ खतरनाक छ। पार्टी भित्रको दोस्रो पुस्ता ‘तरमारा’ पुस्ता हो। कहाँ को आशलााग्दो हुने ? सबभन्दा तरमार्न पल्किएको पुस्ता हो। त्यो मन्त्री पाइन्छ भनेपछि, लाभको पद पाइन्छ भनेपछि सबै मूल्य मान्यता, हिजोका अभिव्यक्ति, संघर्षको मोर्चामा बोलेका शब्दावली टोकरीमा थन्क्याएर लाभको पदमा र्‍याल काढ्छ। अहिले एमालेभित्रको कथित दोस्रो पुस्ता भनियो नि त्यो तरमार्ने आशमा अगाडि बढेको छ। 

    आजको दिनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कम्युनिस्ट हुन् कि होइनन् ? 

    विज्ञानले मान्छेभित्रका अन्तरवस्तु नाप्ने मिटर बनाएन। त्यो बनाइदिएको भए प्रचण्डको शरीरमा छोएर त्यो मिटरले जे भन्थ्यो त्यही आधारमा हामीले निष्कर्ष निकाल्थ्यौँ। त्यो मिटर नबनेको भएर भन्न गाह्रो छ। प्रचण्ड भनेको हाम्रो पार्टीको अध्यक्ष हुनुहुन्छ। जनयुद्धको समग्र नेतृत्व गरेर आउनुभएको हो। अहिले पनि भएभरका प्रधानमन्त्री उहाँले प्रस्ताव गरेर  बनाउनु हुन्छ। संस्थागत प्रतिनिधित्व गर्ने र उहाँले नेतृत्व गरेको आन्दोलनको विषयमा गम्भीर प्रश्न गर्ने आधार छन्। हामीमाथि गम्भीर प्रश्न समाजमा उठेका छन्। त्यसलाई हामीले व्यवहारबाट समाधान गरेर साँघुरो बनाएर सम्बोधन गरे हामी कम्युनिस्ट हुन्छौँ र समाजवादी आन्दोलनको नेतृत्व गछौँ। तर, गम्भीर प्रश्नको जवाफ दिन हामी रुपान्तरित हुनुपर्छ। 

    केपी ओलीलाई कम्युनिस्ट मान्नुहुन्छ ? 

    नामको हिसाबले हुन्। किनभने (नेकपा) नेपाल कम्युनिस्ट पार्टी एकीकृत माक्सवादी लेनिनवादीका अध्यक्ष हुनुहुन्छ। यो कोणबाट कम्युनिस्ट हो। तर, यो भन्दाबाहेक कुनै पनि कोणबाट कम्युनिस्ट देख्दिनँ।
     
    नेपालमा कम्युनिस्ट चाहिँ को हो त ? 

    आरोपका हिसाबले जडसुत्रवादी भन्ने डरलाग्दो छ। वस्तुलाई गतिमा बुझ्दैनन्, समातेको समातै गर्छन् र रुपान्तरण चाहदैन भन्ने आरोप छ। तर, वास्तवमा व्यक्तिगत हिसाबले हेर्ने हो भने कम्युनिस्ट नेता मोहन वैद्य हुन्।

    थप भिडियोमा‍..  


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend