काठमाडौं । नेपालका लेग स्पिनर सन्दीप लामिछाने अष्ट्रेलियन फ्रेन्चाईज लिग ‘बिग बास’ खेल्न होबार्ट हुरिकेन्समा अनुबन्ध भएका छन् । सन्दीपलाई होबार्ट हुरिकेन्सले नयाँ सिजनका लागि बिहिबार सम्झौता नविकरण गरेको हो ।
होबार्टले पहिलो अन्तर्राष्ट्रिय खेलाडीको रुपमा सन्दीपलाई टोलीमा अनुबन्ध गरेको जनाएको छ । सन्दीपले अघिल्लो सिजन पनि होबार्टबाटै खेलेका थिए । उनले गत सिजन आठ खेल खेल्दै आठ नै विकेट लिएका थिए । त्यसभन्दा अघिल्लो सिजन सन्दीपले मेलबर्न स्टार्सबाट बिग बास खेलेका थिए ।
सन्दीप विश्व प्रख्यात बिग बास लिग खेल्ने पहिलो नेपाली खेलाडी हुन् । सम्झौता नविकरणसँगै सन्दीपले यस सिजन उत्कृष्ट प्रदर्शन गर्ने बताएका छन् । ‘गत सिजन टोली राम्रो थियो । यसबर्ष पनि टोलीमा धेरै खेलाडीले सँगै खेल्नेछौं । पूरै सिजन खेलेर टोलीमा बलियो प्रदर्शन गर्न चाहन्छु,’ सम्झौतापछि सन्दीपले भनेका छन् ।
सन्दीप अहिले नेपाली राष्ट्रिय टोलीसँग ओमानमा छन् । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका खेल्न नेपाली टोली ओमान गएको हो ।