एजेन्सी । लन्डन क्लब टोट्टनहाम इङ्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा टोट्टनहामले वाटफोर्डलाई १–० गोलले हरायो । टोट्टनहामको जितमा ह्युङ मिन सनले गोल गरे ।
सनले ४२औं मिनेटमा फ्रिकिकमार्फत गोल गरेका थिए । दोस्रो हाफमा दुवै टोलीले गोलका लागि राम्रो अवसर बनाएपनि सदुपयोग गर्न नसक्दा टोट्टनहाम विजयी भयो । जितसँगै शीर्षस्थानमा रहेको टोट्टनहामले नौ अंक बनाएको छ । लिगमा टोट्टनहामको यो लगातार तेस्रो जित हो । पराजित वाटफोर्ड तीन अंक सहित १२औं स्थानमा छ ।
अर्को खेलमा म्यानचेस्टर युनाइटेडले वल्भ्सलाई उसैको मैदानमा १–० गोलले हरायो । युनाइटेडको जितमा मासन ग्रीनउड नायक बने । मासनले ८०औं मिनेटमा राफेल भरानेको पासमा गोल गरेका थिए । जितसँगै सात अंक बनाएको युनाइटेड गोल अन्तरका आधारमा तेस्रो स्थानमा छ । समान साथ अंक बनाएको वेस्ट हाम युनाइटेड दोस्रो स्थानमा छ । युनाइटेडसँग पराजित वल्भसले अझै अंकको खाता खोल्न सकेको छैन ।
आइतबार नै भएको अर्को खेलमा लिड्स युनाइटेड र बर्नलीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । घरेलु मैदानमा बर्नलीले ६१ औं मिनेटमा क्रिस वुडको गोलमा अग्रता लिएको थियो । ८६औं मिनेटमा लिड्सका प्याट्रिक बामफर्डल गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । बराबरीसँगै लिड्सले दुई अंक बनाएको छ । बर्नलीले एक अंक बटुलेको छ ।