logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • ‘गोर्खालीलाई भारतसँग के को डर ?’ 

    ‘गोर्खालीलाई भारतसँग के को डर ?’ 

    2.1K
    Shares

    काठमाडौं । साफ च्याम्पियनसिप तयारीमा रहेको नेपाल र भारतबीच भदौ १७ र २० गते मैत्रीपूर्ण खेल हुँदैछ । दशरथ रंगशालामा हुने मैत्रीखेलमा नेपालको एउटै लक्ष्य जित भएको नेपाली टोलीका प्रशिक्षक अब्बदुल्लाह अल्मुताइरीले बताए । 

    बुधबार आयोजित पत्रकार सम्मेलनमा अल्मुताइरीले भने, ‘भारत नेपालभन्दा बलियो टोली हो । तर हामी विगतलाई भुृलेर भविष्यका लागि खेल्दैछौँ । टोलीले पोखरा र काठमाडौंमा दुई महिना भन्दा बढी समय तयारी गरेको छ । खेलाडी शारिरिक र मानसिक रुपले तयार छन् । विगतको नतिजाले हामीलाई केही असर गर्नेछैन । हामी दुवै खेल जितेर साफका लागि उच्च मनोबल निर्माण गर्न चाहन्छौँ’ अल्मुताइरीले भने । 

    अल्मुताइरीले दुवै खेल जितेर नेपालको फिफा वरीयतामा सातदेखि १० स्थान सुधार गर्ने दाबी पनि गरे । ‘नेपालविरुद्ध खेल्न भारतलाई पनि कठीन हुनेछ । इतिहास र विपक्षी कस्तो छ भनेर पछि हट्दैनौँ, ‘गोर्खालीलाई भारतसँग के को डर ?’ गोर्खालीले हारेको इतिहास छैन,’ अल्मुताइरीले भने । उनले दुई खेलपछि साफको तयारीका लागि नेपाली टोलीको अभ्यास कतारमा हुने पनि बताए । 

    यसैगरी भारतका क्रोएसियाली प्रशिक्षक इगोर स्टिमाचले नेपालविरुद्ध खेलका लागि आफ्नो टोली तयार रहेको बताए । ‘साफ अघि मैत्रीखेल आयोजना गरेर नेपालले राम्रो गरेको छ । नेपाल भारतका लागि बलियो प्रतिद्वन्द्वी हो । घरेलु मैदानको फाइदा नेपाललाई पक्कै छ । तरपनि खेल प्रतिस्पर्धात्मक हुनेछ,’ इगोरले भने । 

    भारतका कप्तान सुनिल क्षेत्रीले नेपालमा आएर मैत्रीपूर्ण खेल खेल्न पाउनु खुशीको क्षण भएको बताए । ‘नेपालसँग खेल्न कठिन हुनेछ । पछिल्लो समय नेपालले विगतको भन्दा धेरै राम्रो गरिरहेको छ । हामी राम्रो खेल्ने प्रयास गर्नेछौं,’ सुनिलले भने । 

    नेपाल भारतबीच ६ वर्षपछि दशरथ रंगशालामा फुटबल हुन लागेको हो । यसअघि सन् २०१५ मा विश्वकप छनोट अन्तर्गत नेपाल र भारतबीच प्रतिस्पर्धा भएको थियो । उक्त खेल गोलरहित बराबरीमा सकिएको थियो । १३औं संस्करणको साफ च्याम्पियनसिप असोज १५ देखि ३० गतेसम्म माल्दिभ्समा हुनेछ ।

    सर्वाधिक क्याप जित्दै किरण

    नेपाली टोलीका कप्तान किरण चेम्जोङ नेपाल र भारतबीचको दुई खेलपछि सर्वाधिक क्याप जित्ने खेलाडी बन्दैछन् । भारतसँगको पहिलो खेलमा किरणले पूर्व कप्तान विराज मर्हजनसँग ७३ खेलको क्याप बराबरी गर्नेछन् ।

    kiron_chemjong.jpg

    दोस्रो खेलमा उनलाई विराजलाई उछिन्ने मौका समेत मिलेको छ । विराटले हालै मात्र सन्यास लिइसकेका छन् । राष्ट्रिय टोलीबाट सर्वाधिक खेल खेल्ने तरखरमा रहेका किरणले आफ्ना लागि यो सुनौलो क्षण भएको बताए । उनले भारतसँग जितका लागि खेल्ने पनि बताए ।

    किरणले भने, ‘भारतविरुद्धको खेल कठिन हुनेछ । किनकि भारतसँगको खेल मैले जति खेलेँ । अहिलेसम्म जितेको छैन । घरेलु मैदानमा खेल्न गईरहेका छौं । हाम्रो मनोबल उच्च छ । यसपटक जितका लागि खेल्नेछौं ।’ उनले दुई वटा खेललाई टोलीको कमीकमजोरी पत्ता लगाउने अवसर भएको पनि बताए ।

    रंगशालामा दर्शकसहितको खेल

    कोरोनाका कारण लामो समयदेखि दशरथ रंगशालामा दर्शक सहितको फुटबल भएको छैन । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल र भारतबीचको दुई मैत्रीपूर्ण खेल दर्शकसहित खेलाउने भएको छ ।

    एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले लामो समयको अन्योललाई चिर्दै मैत्रीपूर्ण खेल आयोजना गर्न पाएकोमा खुशी ब्यक्त गरे । उनले कोरोनाको स्वास्थ्य मापदण्ड पूरा गरेर दर्शक सहितको फुटबल गराउन सरकारले अनुमति दिएको पनि बताए ।

    दशरथ रंगशालामा बुधबार साँझ ५ः३० बजे सुरु खेलमा ५१ सय दर्शकलाई प्रवेश दिइने एन्फाले जनाएको छ । दर्शकले फुटबल हेर्न जाँदा दुई वटा कोरोना खोपको मात्रा पूरा गरेको कार्ड वा पिसीआर परिक्षणको रिपोर्ट देखाउनु पर्नेछ । एन्फाले दर्शकका लागि युवा तथा खेलकुद मन्त्रालय, स्वास्थ्य मन्त्रालय र प्रशासनबाट समेत स्वीकृति पाइसकेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend