काठमाडौं । नेपाल र भारतबीच आइतबार दोस्रो मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुँदैछ । दशरथ रंगशालामा हुने खेलमा दुवै टोली जित हात पार्ने लक्ष्यका साथ मैदानमा उत्रिनेछन् ।
बिहीबारको खेल १–१ गोलको बराबरीमा टुङ्गिएको थियो । नेपाल र भारतबीचको खेल बेलुका साढे ५ बजे हुनेछ ।
माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारी स्वरुप नै भारतसंग मैत्रपूर्ण खेल आयोजना गरिएको हो । नेपाली टिम भारतसँगको खेलपछि सेप्टेम्बर १० मा थप बन्द प्रशिक्षणका लागि कतार जानेछ र उतैबाट सेप्टेम्बर २७ मा साफका लागि माल्दिभ्स प्रस्थान गर्ने कार्यक्रम छ । साफ अक्टोबर १ देखि १६ सम्म आयोजना हुनेछ ।
नेपालले यसअघि सन् २०१७ मा भारतको मुम्बईमा खेलेको थियो । उक्त प्रतियोगितामा नेपाल भारतसँग दुई शून्य गोलले पराजित भएको थियो ।
नेपाल र भारबीच हालसम्म १९ वटा खेलमा प्रतिस्पर्धा भएकामा भारतले १३ खेलमा जीत हासिल गरेको छ भने नेपाल दुई खेलमा मात्र विजयी भएको छ ।