काठमाडौं । दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल भारतसँग २–१ ले पराजित भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको दोस्रो खेलको दोस्रो हाफमा दुई गोल खाएको नेपालका लागि मिडफिल्डर तेज तामाङले एक गोल फर्काएका हुन् ।
तेजले खेलको ८६ औं मिनेटमा गोल गरेसँगै नेपाल भारतसँग २–१ पराजित भएको हो । प्रतिस्पर्धात्मक बनेको नेपाल र भातरको खेलमा नेपालले केही महत्वपूर्ण अवसर गुमाएको थियो ।
भारतका लागि खेलको ६२ औं मिनेटमा फारुख चौधरी र ८० औं मिनेटमा सुनिल क्षेत्रीले एक–एक गोल गरे ।
भारतका लागि सुनिलले काउन्टरमा गोल गरेका हुन् भने चौधरीले नेपाली डिफेन्सको गल्तीको फाइदा उठाउँदै गोल गरे । बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल र भारतले १–१ को बराबरी खेलेका थिए ।
यसैबीच नेपाली टोलीका कप्तान किरणकुमार लिम्बू (चेम्जोङ)ले राष्ट्रिय टोलीबाट ७४ क्यापको कीर्तिमान तोडेका छन् । उनले यसपूर्व कप्तान विराज महर्जनको नाममा रहेको ७३ क्यापको कीर्तिमान तोडेका हुन् ।
गोलरक्षक विशाल श्रेष्ठले करिब एक दशकको राष्ट्रिय टोलीबाट डेब्यु गरेका छन् । प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले विशाललाई कप्तान किरण लिम्बूको स्थानमा मैदान प्रवेश गराएका थिए ।
व्यावसायिक फुटबलमा मनाङमर्स्याङ्दी क्लब, मच्छिन्द्र क्लबमा सफल रहेका विशालले पहिलो पटक राष्ट्रिय टोलीबाट डेब्यु गर्ने मौका पाएका हुन् ।