logo

२०८१ बैशाख ६ बिहिबार

logo
  • बिहिबार, ६ बैशाख २०८१
  • सामाजिक सञ्जालमा बुवाकाे माया र मुख हेर्ने दिन

    सामाजिक सञ्जालमा बुवाकाे माया र मुख हेर्ने दिन

    13.2K
    Shares

    आज कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिन । हरेक वर्ष भदौ महिनाको कृष्ण पक्ष औंसीको दिन हिन्दू धर्मावलम्बीहरुले यस दिनलाई विशेष श्रद्धाकासाथ लिने गर्छन् । आमाको मुख हेर्ने दिनमा आमाको सम्झना गरिन्छ, गुरु पूर्णिमाको दिनमा गुरुको सम्झना गरिन्छ भने आजको दिन पिताको सम्मान, सम्झना र विशेष समर्पण गरिन्छ ।

    पितृ देवो भवः 

    जीवन गतिशील छ कहिले छोरा त कहिले बुवा, कहिले छोरी त कहिले आमाको भूमिका निर्वाह गर्ने क्रम चलिरहेको हुन्छ । संसारको हरेक कुनामा गएर खोजे पनि बुवाको अर्थ एउटा सिंगो अनुशासित र संस्कारी परिवारको रूपमा भेटिन्छ । ताते–ताते गरेर हिँड्न सिकाउनेदेखि छोरा/छोरीको जीवन सजाउन अहोरात्र खटेर कर्म दिने अनि सुरक्षा दिने पनि बुवा नै हुन् ।

    पितृ देवो भवः । अर्थात बुवा भगवान हुन् । चाहे जुनसुकै धर्म या सम्प्रदायमा किन नहोस् बुवाको हात समातेर पाइला चाल्न सिक्ने धेरै हुन्छन् । संसारको आठौँ आश्चर्य बुबा हो, जसलाई दिन मात्र आउँछ, सन्तानबाट कहिल्यै लिन आउँदैन । परिवारको मार्गदर्शन भनेकै बुवा हो, जो हामी सबैको घरको जग हो, परिवारको सूर्यको किरण हो । बुवा नै हो हाम्रो सपनालाई पूरा गर्ने,  जिम्मेवारी आफ्नो थाकेको काधमा सजाउने, बुवा नै हो आफ्नो परिवारको लागि आफैँलाई आफैँले पर कतै लगेर बेचिदिने व्यापारी । बुवा नै संसारको सबैभन्दा बलियो र शक्तिशाली व्यक्ति हो जो हामीलाई जन्म दिने आमाको अभिमान हो, स्वाभिमान हो र हामी सन्तानको सुरक्षा कवच हो ।

    आफूले देख्न र भोग्नबाट सदैव बञ्चित भएका कुराहरु आफ्ना सन्तानलाई देखाउने उद्धेश्यका साथ संघर्ष गर्ने एक पात्र नै हामी सबैको प्यारो पात्र हुन्, बुवा । हरेक बुवाको सपना हुन्छ आफ्नो बच्चाले आफूले भन्दा धेरै राम्रो गरोस्, त्यही सपना पूरा गराउनका निम्ति शाहस राख्ने हिम्मत हो बुवा । 

    माता–पिता शब्द ब्याख्या यतिले मात्र पूर्ण हुँदैन । जे होस् आमा बुवा नै यस जगतका देख्न सकिने भगवानहरु हुन् । सायद, शब्दले व्याख्या गर्न सकिँदैन ।

    बुबाको मुख हेर्ने दिनमा रङ्गिएको सामाजिक संजाल
     
    २१ औं शताब्दीमा बदलिँदो समय आधुनिक प्रविधिसँगै विभिन्न सामाजिक विकृति पनि भित्रिएका छन् । तिनले समाजलाई खोक्रो बनाउँदै लगेका छन् । त्यस्ता समस्या विश्लेषण गरेर क्षमताले भ्याएसम्म निर्मूल गर्नु हाम्रो दाहित्व हो । 

    पछिल्लो समयमा हाम्रा पर्व वा दिन सामाजिक संजालबाट बढी अभिव्यक्त हुने ट्रेन्ड बढ्दै गएको छ । आजको दिन आफ्ना बुवाप्रति सम्मान, सम्झना र विशेष समर्पण व्यक्त गर्छन् त्यसैले भए पनि यो पर्वले निरन्तरता पाएको छ ।

    कुनै खास पर्व वा जमघटका तस्बिर त विशेष रहन्छ । आखिर हामीले जे फोटोबाट प्रदर्शन गरेका हुन्छौं त्यति नै व्यवहारमा छौँ त ?  बोलाइ र गराइमा तालमेल नमिल्ने त नेपाली संस्कृति नै बनेको छ भन्दा अत्युक्ति नहोला । के सामाजिक संजालको माया र व्यक्तिगत जीवनको तुलना गर्नु व्यवहारिक होला र ? फेसबुकमा राखेको तस्बिर र गरेको प्रशंसा बुबाले हेर्छन् कि हेर्दैनन् त्यो कुरा अर्कै पाटो भयो तर बुवासँग कुनै बेला मौकामा खिचेको राम्रो, चिरिचट्ट परेको र माया दर्शिने खालको फोटो र विभिन्न मन खाने शब्द छानेर फेसबुकमा हाल्ने गरिन्छ ।

    हाम्राे समाजमा पनि कयाैँ त्यस्ता छाेराछाेरी छन् जसले वृद्ध बुवाआमा वृद्धाश्रममा लगेर राखेका छन् । शास्त्र कै कुरालाई मान्ने हो भने शास्त्रमा बुवाभन्दा आमा दश गुणा बढी मान्य हुन्छिन् भनी व्याख्या गरिएको छ, ‘मातृदेवो भवः’ भनेर सबैभन्दा पहिले भनिन्छ, त्यसपछि मात्र ‘पितृदेवो भवः’, ‘आचार्यदेवो भवः’ भनिन्छ तर यिनीहरुलाई कसरी बुझ्ने अचम्म लाग्छ । आफ्ना छोराछोरीलाई असाध्यै माया गर्छन् तर बुवा आमालाई/ सासु ससुरालाई वृद्धाश्रम मा पनि पुर्‍याउँछन् । अनि कुशे औंसीको दिन पूजा पनि गर्छन् । 

    असल बुवा र असल आमा दुवैले आफ्नो जीवनका अमूल्य समयहरु छोराछोरीको जीवन बनाउन लगाएकै हुन्छन् ।
     
    आफ्ना नजिकैका बुढा आमाबुवाहरुलाई भेट्न जान नभ्याउने छोराछोरी पनि कसैका आमा बुवा हुन्छन् । तिनीहरुलाई भने आफ्ना सन्तान सारै प्यारा लाग्छन् । आफ्ना छोराछोरीले आफूहरुलाई मातातीर्थ औंसी, कुशे औंसी नबिर्सिदिउन् भन्ने कामना गरिरहेका हुन्छन् । यदी बिर्सेका भए पनि फोन गरेर नै जमघट गरेर यस्ता खाले दिनहरुको जमघटको तस्बिरले सामाजिक संजाल रंगाउनु उनीहरुलाई प्रतिष्ठाको विषय बन्छ । यहिँनेर वृद्ध बा-आमाहरु पनि त्यति नै माया गर्दछन् जति अहिलेकाे मोडर्न ‘ममी/ड्याडी’हरुले आफ्ना ‘बेबी’हरुलाई गर्छन् ।

    अरुको भन्दा कहीं न कतै बाट राम्रो र उन्नत स्तरको जीवन शैली भएको देखाउने ठाउँ बनेको छ सामजिक सञ्जाल । यस्ता सामान्य कुरामा प्रतिस्पर्धा र देखाउनका लागि मात्र गरिने यस किसिमकाे शैली प्रचार बाजी मात्र होइन र ?

    बुवाको सम्पति होइन, बुवाको छाया आफूसँग झल्कनु नै ठूलो आशिर्वाद हो । आमाबुवा नै यस जगतका देख्न सकिने भगवानहरु हुन् । उहाँहरूले दिनरात पसिना बगाउनुभयो । मलाई पसिनाको मूल्य सिकाउनुभयो । उहाँहरूले म प्रति लगाएको गुन कसरी तिरौं, सायद कहिल्यै तिर्न सकिने छैन । त्यसैले उहाँहरूलाई खुसी पार्नु र सुखी बनाएर राख्नु नै मेरो कर्तव्य हुनेछ । म उहाँहरूले गर्व गर्न लायक बनेर देखाउने छु ।  भविश्यमा उहाँहरूलाई लागोस् कि छोराले राम्रो ग-यो । सोचे जस्तै भयो । त्यतिबेला म खुसी हुनेछु । त्यसैले मेरा लागि आमाबुबा नै भगवान हुनुहुन्छ । उहाँहरूको सपना पूरा गर्नु मेरो जीवनको लक्ष्य हाे । हामी सबैले आ–आफ्नो कामप्रति गर्व गर्नुपर्छ । हामीले कामलाई अवसरका रुपमा लिनुपर्छ । अनि आत्मविश्वास बोकेर कार्यक्षेत्रमा खटियो भने हातमा सफलता मिल्नेछ ।  कामप्रति न्याय गर्न सकिनेछ ।  

    सम्पूर्ण बुवामा धेरै माया । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend