काठमाडौं । नेपालमा भलिबल खेलको पनि फ्रेन्चाइज लिग हुने भएको छ । नेपाल सुपर लिग (एनएसएल) महिला तथा पुरुष फ्रेन्चाइज भलिबल लिग नोभेम्बर १७ देखि डिसेम्बर १७ सम्म हुने घोषणा भएको छ ।
नेपाल स्पोर्ट्स म्यानेजमेन्ट एण्ड इभेन्ट्स कम्पनीले मंगलबार पत्रकार सम्मेलन गर्दै एनएसएल महिला तथा पुरुष फ्रेन्चाइज भलिबल लिगको घोषणा गरेको हो ।
लिग सञ्चालनका लागि इभेन्ट्स कम्पनीले नेपाल भलिबल संघसँग १० वर्षको सम्झौता पनि गरेको छ । सम्झौता पत्रमा संघका उपाध्यक्ष निरोज मास्के र एनएसएलका अध्यक्ष आश्रेता कार्की चौधरीले हस्ताक्षर गरेका थिए । सम्झौतासँगै लिगका लागि संघले प्राविधिक सहयोग गर्नेछ । व्यवस्थापन र लिगका लागि लगानी इभेन्ट्स कम्पनीले गर्ने बताईएको छ । सम्झौता अनुसार लिगबाट प्राप्त नाफाको ३० प्रतिशत रकम संघले पाउनेछ ।
लिगको पहिलो संस्करण काठमाडौंमा गरिने र दोस्रो संस्करणबाट हेम एन्ड अवेका आधारमा देशका प्रमुख शहरमा गरिने पनि आयोजकले जनाएको छ । फ्रेन्चाइज लिगले भलिबललाई ब्यवसायिक बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने पनि बताईएको छ ।