काठमाडौं । एभरेष्ट प्रिमियर लिग (इपीएल) क्रिकेटको उद्घाटन खेलमा साविक विजेता ललितपुर प्याट्रिओट्स र काठमाडौं किंग्स–११ बीच प्रतिस्पर्धा हुने भएको छ ।
आयोजकले बुधबार सार्वजनिक गरेको खेल तालिका अनुसार पहिलो खेलमा ललितपुरले काठमाडौं प्रतिद्वन्द्वी पाएको हो । इपीएल असोज ९ देखि २३ गतेसम्म कीर्तिपुरस्थिती टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । चौथो संस्करणको इपीएलमा ६ टोलीले प्रतिस्पर्धा गर्दैछन् । लिगमा ललितपुर र काठमाडौंसँगै विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, चितवन टाइगर्स र पोखरा राइनोज सहभागी छन् ।
सिंगल राउण्ड रोविनका आधारमा खेलाइने लिगमा १५ खेल हुनेछ । त्यसपछि शीर्ष चार टोली क्वालिफायर राउन्डमा प्रवेश गर्नेछन् । क्वालिफायरमा फाइनलसहित चार खेल हुनेछ । इपीएलको विजेता टोलीले ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।